काठमाडौँ, २७ असोज ।
एमाले नेता भीमबहादुर रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाएकोमा आक्रोश व्यक्त गरेका छन् । रावलले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले अन्यायपूर्ण, स्वेच्छाचारी निर्णय गरिरहेको भन्दै कडा आलोचना गरेका छन् ।
“अछाम १ बाट एमालेका निम्ति कुनै योगदान नगरेको, सिफारिस नै नगरेको व्यक्तिलाई टिकट दिइयो । पार्टी पदाधिकारी र ओलीले गरेको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत छ”, रावलले भने ।
पार्टीमा विधि र अनुशासन कायम नरहेको रावलको गुनासो थियो । उनले पार्टीमा परामर्श नै नहुने गरेको र आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम भएको उल्लेख गरे । आफूलाई हराउन नसकेपछि टिकट खोसिएको आरोप उनले लगाए ।
आफूलाई प्रतिनिधिसभा सदस्यका लागि अछाम १ बाट टिकट नदिनु सुदूरपश्चिमका नेता र कार्यकर्ताको घोर अपमान भएको, पार्टीको हित र एकतामा आँच पुर्याएको रावलले जिकिर गरे ।