भरतपुर, ३ कात्तिक ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलकै क्रममा दुर्घटनामा परी मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ । उनको असोज ३० गते प्याराग्लाइडिङ खेलको क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्दैगर्दा दुर्घटनामा परी मृत्यु भएको थियो ।
गोरखा स्थायी घर भई हाल पोखरा–१० बस्दै आएका थापा नेपाल आर्मीसँग करारमा अनुबन्ध भई नवौँ राष्ट्रिय खेलकुदमा सहभागी भएका थिए । पोखरा रंगशालामा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले थापाको पदक उनका काका भेनिस थापालाई हस्तान्तरण गरे ।
दुर्घटनापछि प्याराग्लाइडिङ प्रतियोगिता बीचैमा रोकिएको छ भने देशभर कुनै पनि प्याराग्लाइडिङ उडान गर्न पनि निषेध गरिएको छ । त्यसैले तयारी खेलकै नतिजालाई आधार मानेर विजेता घोषित गरिएको हो । जसमा गण्डकी प्रदेश र नेपाल आर्मीले समान ३र३ स्वर्ण पदक हात पारेका हुन् । निसिम सहभागी भएको विधामा आर्मीले रजत पदक जितेको छ ।
विजेता बनेका खेलाडीलाई मन्त्री गहतराजले पोखरा रंगशालामा नै पदक हस्तान्तरण गरेका छन् । तर, विजयी खेलाडीलाई पदक गलामा नभई हातमा दिइएको छ ।
स्वर्गीय थापाप्रति सम्मान गर्दै पदक गलामा नलगाई हातमा दिइएको नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघले जनाएको छ । नवौं संस्करणका दौरान ज्यान गुमाउने थापाको सम्मानमा पोखरा रंगशालामा अर्धकदको शालिकसमेत बनाइने निर्णय गरिएको छ ।