काठमाडौं, ५ कात्तिक ।
नेपालीहरूको दोस्रो महान् चाड तिहारको अवसरमा विगतमा ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ । शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्त रूपमा प्रज्ञा भवनमा देउसी भैलोको आयोजना गरेको हो ।
देउसीको माध्यमबाट कलाकारहरूले समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसंगति विरुद्ध व्यङ्ग्य प्रस्तुत गरेका थिए । देउसी कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतको प्रस्तुपि रहेको थियो । यस्तै, व्यङ्ग्यकविका रूपमा परिचित अर्जुन पराजुलीले पनि करिब आधा दर्जन कविता वाचन गरेर दर्शकको मन जिते । कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलले पैसाका लागि नेताले जनताको भावनासँग कसरी खेलिरहेका छन् भन्ने विषयमा व्यंग्य प्रस्तुत गरेका थिए । कवि अर्जुन पराजुलीले विभिन्न कालखण्डमा नेता तथा नेतृत्वले जनतालाई अनेक सपना बाँडेर सत्तामा पुगेपछि तिनै सपनामाथि खेलवाड गर्ने गरेको कुरालाई कवितामार्फत व्यक्त गरे ।
देउसी भैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई, विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, काठमाडौँ तथा ललितपुर महानगरका प्रमुख, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
हरेक वर्ष तिहारको उपलक्ष्यमा सिस्नुपानी नेपालले देउसीभैलो कार्यक्रमको आयोजना गर्दै आएको छ । यस अघिका दुई वर्ष कोभिड१९ महामारीका कारण आयोजना हुन सकेको थिएन । “देउसी भैलो उत्साहजनक रह्यो। दर्शकको मायाले हामी पुलकित भएका छौ संस्थाका अध्यक्ष लक्षण गाम्नागेले भने । देशलाई सुशासनको मार्गमा खबरदारी गर्न सिस्नुपानीले निरन्तर लागिरहने आयोजकको भनाइ थियो ।