क्रिकइन्फो, ५ कात्तिक ।
न्यूजील्याण्डले आठौँ संस्करणको टिट्वान्टी विश्वकपमा सुखद् सुरुवात गरेको छ । किवी ब्याट्सम्यान डेभन कन्वे चम्किएको खेलमा न्यूजील्याण्डले साबिकको विजेता अष्ट्रेलियालाई ८९ रनको फराकिलो अन्तरले हराएको हो । कनवेले ५८ बलमा अविजित ९२ रन बनाएका थिए ।
२०१ रनको उच्च लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया १७.१ ओभरमा १११ रनमा अलआउट भयो । ओपनर डेविड वार्नरलाई ५ रनको व्यक्तिगत स्कोरमा गुमाएको घरेलु टोलीले त्यसपछि खेलमा लय नै समात्न सकेन । कंगारु टोलीका लागि मध्यक्रमका ग्लेन म्याक्सवेलले २८ र प्याट कमिन्सले २१ रन बनाउँदा अष्ट्रेलियाका पाँच ब्याट्सम्यानले दोहोरो रनको स्कोर छुन सकेनन् । अष्ट्रेलियालाई सस्तैमा समेट्न किवी बलरहरू टिम साउथी र मिचेल स्यान्ट्नरले ३-३, ट्रेन्ट बोल्टले २ तथा लोकी फर्गुसन र इस सोधीले १-१ विकेट चट्काए ।
यसअघि सिड्नीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले २ण् ओभरमा जम्मा ३ विकेट गुमाउँदै २०० रनको योगफल बनाएको थियो । विष्फोटक ब्याटिङ गरेका ओपनर ब्याट्सम्यान कन्वेले सात चौका र दुई छक्का प्रहार गरे । कन्वे प्प्लेयर अफ दि म्याच समेत घोषित भए । उनले पहिलो विकेटका लागि फिन एलानसँग ५६ रनको साझेदारी गरेका थिए ।
केवल १६ बलको सामना गरेका एलानले ४२ रन बनाए । त्यसपछि कनवेले तेस्रो क्रममा ब्याटिङ गर्न आएका कप्तान केन विलियम्ससँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे । विलियम्सले २३ रन बनाएर आउट भए । त्यस्तै, जेम्स नसिमले १३ बलमा २६ रनको योगदान दिए । अस्ट्रेलियाका तर्फबाट जोश हेजलउडले २ तथा एडम जाम्पाले १ विकेट लिए । अष्ट्रेलियाका लागि प्याट कमिन्स सर्वाधिक महँगा साबित भए । ४ ओभरको स्पेल फालेका उनले कुनै पनि विकेट नलिई ४६ रन खर्चिन पुगेका थिए ।
जीतपछि न्यूजील्याण्डले दुई अंक बटुलेको छ ।