मेलबर्न, ६ कात्तिक ।
अष्ट्रेलियामा जारी आईसीसी टि-ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई चार विकेटले हराएको छ । दायाँ हाते ब्याट्सम्यान विराट कोहलीको उत्कृष्ट पारीको सहयोगमा भारतले पाकिस्तानमाथि सनसनीपूर्ण जीत दर्ता गराएको हो ।
पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर भेट्टायो । भारतको ब्याटिङ सुरुवाती अवस्थामा भने धर्मराएको थियो । एक समय ३१ रनमा ४ विकेट गुमाएको भारतका लागि त्यसपछि पूर्व कप्तान कोहली र अलराउण्डर हार्दिक पाण्डेयले सङ्कटमोचक पारी खेलेका थिए । यी दुईले पाँचौँ विकेटका लागि ७८ बलमा ११३ रनको साझेदारी गरे । १९औँ ओभरको पाँचौँ र छैटौँ बलमा कोहलीले लगातार दुई छक्का प्रहार गर्दै लक्ष्य छोट्याउने प्रयास गरेका थिए । तर २०औँ ओभरको पहिलो बलमा पाण्डेय ४० रनको स्कोरमा मोहम्मद नबाजको बलमा बाबर अजामबाट समातिन पुगे । पाण्डेय आउट हुँदा भारतलाई जीतका लागि १६ रनको आवश्यकता थियो ।
दबाबमा देखिएका नबाजले २०औँ ओभरको चौथो बल नो बल फ्याँके जसमा कोहलीले अर्को छक्का जोडे । त्यसपछि भारतले दुई अतिरिक्त रन वाइड र तीन रन बाइको रूपमा पाएको थियो । अन्तिम बलमा जीतका लागि १ रन आवश्यकता रहेको अवस्थामा रविचन्द्र अश्विनले उक्त रन लिँदै भारतलाई लक्ष्यको पार लगेका थिए । ५३ बलमा ८२ रन बनाएका कोहली ९० हजार दर्शकका अगाडि प्लेयर अफ दि म्याच समेत घोषित भए । पाकिस्तानका लागि मोहम्मद नबाज र हरिस रौफले २-२ विकेट चट्काए भने नसिम शाहले पनि १ विकेट लिए ।
यसअघि मेलबर्नमा भारतले टस जितेर पाकिस्तानलाई पहिले ब्याटिङ गर्ने निम्ता दिएको थियो । पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रनको योगफल खडा गर्यो । यद्यपि पाकिस्तानको पनि सुरुवात अपेक्षाकृत खालको थिएन । दोस्रो ओभरमा कप्तान बाबर अजामलाई शून्य रनमा गुमाएको पाकिस्तानको स्कोर पनि एक समय १५ रनमा दुई विकेट थियो । पाकिस्तानलाई १५९ रनको सम्मानजनक स्कोरसम्म पुर्याउन इफ्तिकार अहमदले ५१ र सान मसुदले ५२ नट आउट रनको योगदान गरे । यी दुईले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।
बलिङतर्फ भारतका लागि पहिलो टि-ट्वान्टी विश्वकप खेलिरहेका अर्सदिप सिंहले ३ विकेट लिए । उनीसँगै हार्दिक पाण्डेयले पनि ३ विकेट चट्काए । त्यस्तै, भुवनेश्वर कुमार र मोहम्मद समीको नाममा पनि १-१ विकेट रह्यो ।
सुपर १२ मा समूह २ मा रहेको भारतले जीतपछि आफ्नो खातामा दुई अंक जोडेको छ ।