मेलबर्न, ९ कात्तिक ।
आईसीसी टि-ट्वान्टी विश्वकपको सुपर १२ को बुधबार खेलिएको पहिलो खेलमा आयरल्याण्ड विजयी भएको छ । उसले इंग्ल्याण्डलाई डकवर्थ लेविस नियमका आधारमा ५ रनले हराएको हो ।
इंग्ल्याण्डलाई खेलमा १५८ रनको लक्ष्य मिलेको थियो । इंग्ल्याण्डको पारीको १५औँ ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेलको निर्णय डकवर्थ लेविस नियमबाट गरिएको हो । डकवर्थ नियमका आधारमा इंग्ल्याण्डलाई खेल रोकिएको अवस्थामा (१४.३ ओभरमा) १११ रनको लक्ष्य पार गरेको हुनुपर्ने थियो । तर उसले त्यस समयसम्म ५ विकेट गुमाएर जम्मा १०५ रन बनाएको थियो । त्यसपछि ऊ ५ रनको अन्तरले पराजित हुन बाध्य भयो ।
वर्षा हुनुअघि इंग्ल्याण्डका लागि डेविड मलानले ३५ रन बनाए । ओपनर जोश बटलर शून्य रनमा आउट हुँदा बेन स्टोक्सले ६ र एलेक्स हेल्सले ७ रन मात्र बनाउन सके । मध्यक्रमका बायाँहाते ब्याट्सम्यान बेन स्टोक्स २४ रनमा अविजित रहे । इंग्ल्याण्डलाई खेल अवधिभर दबाबमा राख्न आयरल्याण्डका लागि जोश लिटिलले २ तथा ब्यारी म्याकर्थी, फियोन ह्यान्ड र जर्ज डकरेलले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको आयरल्याण्डले निर्धारित १९.२ ओभरमा अल आउट हुँदै १५७ रन बनाएको थियो । उसका लागि एन्ड्रियु बालबिर्नले सर्वाधिक ६२ रनको योगदान गरे । ४७ बलको सामना गरेका उनले ५ चौका र २ छक्का जोडेका थिए । यस्तै, लोरकान टकरले रन आउट हुनुअघि ३४ रन जोडेका थिए । इंग्ल्याण्डका लागि मार्क वुड र लिभङ लिभिङस्टोनले ३-३ विकेट लिए । यस्तै, साम कुरानले २ विकेट चट्काउँदा बेन स्टोक्सको नाममा पनि एक विकेट रह्यो ।
जीतपछि आयरल्याण्डले दुई अंक प्राप्त गरेको छ । दुई खेलमा एक जीत र एक हारको नतिजा निकालेको उसको कूल अंक दुई नै छ । सुपर १२ को समूह एकमा रहेको ऊ अंकतालिकामा चौथो स्थानमा छ । आयरल्याण्डसँगको हारपछि इंग्ल्याण्डलाई समूहको शीर्ष दुईमा रहन थप कठिन पर्ने देखिएको छ । यस समूहमा समान दुई-दुई अंकमा रहेका न्यूजील्याण्ड र श्रीलंका पहिलो र दोस्रो स्थानमा छन् । डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया भने पाँचौँ स्थानमा छ । उसले पनि दुई खेलबाट दुई अंक नै बटुलेको छ ।