सिड्नी, १० कात्तिक ।
भारतले आइसीसी टि-ट्वान्टी विश्वकपमा बिहीबार प्रतियोगिताको लगातार दोस्रो जीत निकालेको छ । उसले नेदरल्यान्डसलाई ५६ रनले पराजित गरेको हो । नेदरल्याण्डसको भने यो लगातार दोस्रो हार हो ।
जीतका लागि भारतले दिएको १८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । उसका टिम प्रिंगलले बनाएको २० रन नै टोलीका लागि सर्वाधिक ठूलो स्कोर बन्न पुग्यो । बलिङतर्फ भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्रन अश्विनले २-२ विकेट लिए । यस्तै, हार्दिक पाण्डेयको नाममा पनि १ विकेट रह्यो ।
यसअघि टस जित्दै पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १७९ रन बनाएको थियो । उसका लागि ओपनर लोकेश राहुलबाहेक ब्याटिङ गर्न उत्रिएका तीनै ब्याट्सम्यानले अर्ध शतक बनाए । कप्तान रोहित शर्माले ५३ रन बनाउँदा विराट कोहलीले नट आउट ६२ र सूर्यकुमार यादवले अविजीत ५१ रन प्रहार गरे । यादव प्लेयर अफ दि म्याच बने । नेदरल्याण्ड्सका लागि दुई विकेट फेर्ड क्लासन र पल भान मिकरिनले लिए ।
जीतपछि भारतले दुई अंक बटुलेको छ । दुई खेलबाट ४ अंक प्राप्त गरेको भारत समूह २ को अंकतालिकामा पहिलो स्थानमा उक्लिएको छ । सो समूहमा दुई खेलबाट ३ अंक जोडेको दक्षिण अफ्रिका तालिकामा दोस्रो स्थानमा छ ।