पर्थ, १० कात्तिक ।
आइसीसी टिट्वान्टी क्रिकेट विश्वकपमा जिम्बाब्वेले पाकिस्तानमाथि रोमाञ्चक जीत हात पारेको छ । सुपर १२ अन्तर्गत बिहीबार सम्पन्न खेलमा उसले पाकिस्तानलाई एक रनले हराएको हो । जिम्बाब्वेसँगको अप्रत्याशित हारपछि पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कठिन मोडतर्फ लागेको छ ।
जिम्बाब्वेले दिएको १३१ रनको सामान्य लक्ष्य पछ्याउन उत्रिएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर जम्मा १२९ रन बनायो । पहिलो खेलमा भारतसँग खराब बलिङका कारण अन्तिम ओभरमा हार्न पुगेको पाकिस्तानले जिम्बाब्वे विरुद्ध कमजोर ब्याटिङ गर्यो । टिमको स्कोर १३ रन छँदा कप्तान बाबर आजमलाई गुमाएको पाकिस्तानले त्यसपछि पनि सम्हालिएको प्रदर्शन गर्न सकेन । उसले नियमित अन्तरालमा विकेट गुमाइरह्यो ।
२३ रनमा दोस्रो र ३६ रनमा तेस्रो विकेट गुमाएको पाकिस्तानले ८८ रनको स्कोर बनाउँदासम्म थप दुई विकेट गुमाइसकेको थियो । खेलको अन्तिम बलमा पाकिस्तानलाई जीतका लागि ३ रनको आवश्यकता थियो । उक्त बलमा पहिलो रन पूरा गरेका शहीन शाह अफरिदी दोस्रो रन लिने क्रममा आउट भए । पाकिस्तानका लागि सान मसुदले ४४ रनको पारी खेलेपनि त्यो लक्ष्य भेट्टाउन पर्याप्त रहन सकेन । जिम्बाब्वेका लागि प्लेयर अफ दि म्याच बनेका सिकन्दर राजाले ३ विकेट लिए । यस्तै ब्राड इभान्सले २ तथा ब्लेसिङ मुजराबानी र ल्युक जोन्वीले १-१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । उसका लागि सन विलियम्सले सर्वाधिक ३१ रनको पारी खेले । पाकिस्तानका मोहम्मद वसीमले चार विकेट लिँदा सदाब खानले ३ तथा हरिस रौफले १ विकेट चट्काए ।
जीतपछि जिम्बाब्वेले दुई अंक हात पारेको छ । जिम्बाब्वेले दक्षिण अफ्रिका विरुद्ध खेलेको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवैले १-१ अंक बाँडेका थिए । जीतपछि जिम्बाब्वे सुपर १२ को समूह २ को अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।