क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका उनको पेसी मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो।
बयान सकिएसँगै अब भोलिदेखि थुनछेक बहस हुने अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए।
सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो।
प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन।
उनले १७ वर्षीय नाबालिगलाई भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर दुई पटक बलात्कार गरेको आरोप छ।
भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।
सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।
उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
प्रहरीले पीडितलाई क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ। क्षतिपूर्ति दिलाउन प्रहरीले सन्दीपको सम्पत्ति समेत छानविन गरी अभियोग पत्रमा उल्लेख गरेको छ।
अभियोगपत्रमा उल्लेखित विवरणअनुसार सन्दीप लामिछानेको एनआइसी बैंकमा जम्मा ६५ हजार २९८ रुपैयाँ मात्रै रहेको देखियो। त्यसबाहेक चितवन कल्याणपुर-७ मा रहेको जग्गा पनि खुलाएको छ। उक्त सम्पत्ति पनि रोक्का गरिदिन अनुरोध गरेको छ।
सन्दीप लामिछानेले सरकारी वकिल कार्यालय र प्रहरीलाई बलात्कारको इन्कारी बयान दिएका छन्। उनले भदौ ५ गते राति काठमाडौंको होटलमा पुगेर एउटै कोठामा बसेको स्विकारेका छन्। तर उनले पीडित युवती बेडमा सुतेको र आफू कुर्सीमै सुतेको बयान दिएका छन्।