भरतपुर, २० कात्तिक ।
आइसीसी टि-ट्वान्टी विश्वकप अन्तर्गत आइतबार खेलिएको दोस्रो खेलमा पाकिस्तानले बंगलादेशलाई पाँच विकेटले हराएको छ । प्रतियोगिताबाट लगभग बाहिरिने अवस्थामा पुगेको पाकिस्तानले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । आइतबार खेलिएको पहिलो खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानलाई अन्तिम चारमा प्रवस गर्न सहज अवस्थाको सृजना भएको हो । अफ्रिकाको हारपछि ग्रुप २ बाट भारत र पाकिस्तान सेमिफाइनल प्रवेश गर्ने निश्चित भएको हो ।
बंगलादेशले दिएके १२८ रनको झिनो लक्ष्य पाकिस्तानले ५ विकेटको क्षतिमा १८.१ ओभरमा भेट्टायो । उसका लागि ओपनर मोहम्मद रिजवानले ३२, मोहम्मद ह्यारिसले ३१ र कप्तान बाबर आजमले २५ रन बनाए । रिजवान र आजमले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए ।
बंगलादेशले यसअघि एडिलेडमा टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो । सो क्रममा उसले ८ विकेटको क्षतिमा १२७ रन बनाएको थियो । बंगलादेशका लागि ओपनर नजमुल हुसेनले ४८ बलमा ५४ रन बनाए । उनले २० रन बनाएका सौम्य सरकारसँग दोस्रो विकेटका लागि ५२ को साझेदारी गरे पनि तल्लो क्रमका ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । पाकिस्तानका शहीन शाह अफ्रिदीले पाकिस्तानका लागि २२ रन खर्चँदै ४ विकेट लिए ।
जीतपछि पाकिस्तानले पाँच खेलबाट छ अंक बटुलेको छ । एक खेल कम खेलेको भारतको पनि छ अंक छ । भारत नेट रन रेटका आधारमा पाकिस्तानभन्दा एक स्थान मुनि रहेको हो । आजकै अन्तिम खेलमा भारतले जिम्बाब्वेको सामना गर्नेछ । यो खेलपछि समूह २ को विजेताको निर्णय हुनेछ ।
सेमिफाइनलमा समूह १ को विजेता न्यूजील्याण्डले समूह २ को उपविजेतासँग खेल्नेछ भने समूह २ को विजेताले समूह १ को उपविजेता इंगल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।