सिड्नी, २३ कात्तिक ।
आइसीसी टि-ट्वान्टी क्रिकेट विश्वकपको पहिलो सेमीफाइनलमा न्युजील्याण्डलाई हराउँदै पाकिस्तानले फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । कप्तान बाबर आजम र विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले अर्धशतकीय पारी खेलेपछि बुधबार पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । सन् २००९ को उपाधि जितेको पाकिस्तान त्यसपछि पहिलो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा पुगेको हो ।
१५३ रनको लक्ष्य पछ्याउन उत्रिएको पाकिस्तानले १९.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पाकिस्तानका लागि ओपनरद्वय आजम र रिजवानले पहिलो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए ।
पाकिस्तानका लागि ४२ बलमा सात चौकासहित ५३ रन जोडेर कप्तान आजम पेभेलियन फर्किए । प्लेयर अफ दि म्याच रिजवानले ४२ बलमा पाँच चौकासहित ५७ रनको योगदान दिए । मोहम्मद ह्यारिसले पनि आफ्नो ब्याटनाट ३० रन बनाए । बलिङतर्फ न्युजील्यान्डका लागि ट्रेन्ट बोल्टले चार ओभरमा ३३ रन खर्चेर दुई विकेट लिए ।
सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको न्युजील्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५२ रनको सामान्य योगफल तयार गरेको थियो ।
न्युजील्याण्डका डेरल मिचेलले नट आउट ५७ तथा कप्तान केन विलियम्सनले ४६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन । पाकिस्तानका शहिन शाह अफरिदीले २ तथा मोहम्मद नवाजले १ विकेट लिए ।
सुपर–१२ बाट समूह १ को विजेता बन्दै न्युजील्याण्डले अन्तिम चारमा स्थान बनाएको थियो। समूह २ मा दुई खेल पराजित भएर पनि पाकिस्तान रोमाञ्चक ढङ्गले उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । पाकिस्तानले बिहीबार हुने भारत र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार उपाधिका लागि खेल्ने छ ।