लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएकाे छ । आज आइतवार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले मधेस प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने निर्णय पनि गरेको पार्टीका नेता केशव झाले बताउनुभयो । उहाँले आजको बैठकमा सङ्गठन विस्तारको सन्दर्भमा यथाशीघ्र पार्टीको सङ्गठन विस्तारको कामलाई तीव्रता दिने निर्णय भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । आजको बैठकले मधेस प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।’
नेता झाले बैठकमा राजनीतिक र समसामयिक विषयमा पनि छलफल भएको बताउनुभयो ।