भरतपुर, २७ पुस ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा सरकार अस्पतालले लिने शुल्कमा क्यान्सरको उपचार सुरु गरेको छ । सरकारले विपन्नका लागी तय गरेको शुल्कमा सिएमसी क्यान्सर इन्स्टिच्यूटले उपचार प्रदान गरेको छ । क्यान्सरको उपचारका लागि सिएमसीले अलग्गै भवन बनाएर गत कार्तिक २४ गतेबाट उपचार सुरु गरेको हो ।
अस्पतालमा अहिले रक्तक्यान्सर बाहेक सम्पूर्ण क्यान्सरको उपचार हुँदै आएको छ । अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध रहेको छ । ‘हाम्रोमा बायोप्सी गरेको पाँच दिनमा रिपोर्ट आउँछ,’ क्यान्सर विभागका रेडियसन अंकोलोजिस्ट डा. सुवास ठाकुरले भने, ‘प्लान गरेको दुई दिनमा रेडियो थेरापी सुरु गर्छौ ।’
यी सबै सेवाहरु नेपाल सरकारले तोकेको शुल्कमा गरिंदै आएको प्रमुख कार्यकारी प्रताप देवकोटाले बताए । ‘समयमा उपचार सुरु गरिएन भने क्यान्सर झन फैलन्छ । हामी सरकारी रेटमा त्यहाँ भन्दा छिटो उपचार गर्छौं,’ प्रमुख कार्यकारी निर्देशक देवकोटाले भने, ‘ प्रविधि र समयलाई ख्यालन गरेर सुरु गरेका छौ । नागरिकले दुख नपाउन भन्ने हो ।’
अस्पतालमा ब्राकिथेरापी अन्तर्गतका प्लानिङ, सिमुलेसन, एप्लिकेशन, ट्रिटमेन्ट काउन्सिलिङ लगायतका सेवाहरू ३ हजार रुपैयाँमा उपलब्ध छ । यस्तै केमोथेरापीको शुल्क रु. एक हजारमा गर्न मिल्ने छ । यस्तै प्लानिङ थ्रिडि सिआरटि १२ हजार, सिमुलेसन ५ हजार, कन्ट्रियूरिङ १८ हजार रुपैयाँमा हुने अस्पतालले जनाएको छ । उल्लेखित शुल्कहरू सरकारले तोकेको अस्पतालले जनाएको छ ।
उच्च प्रविधिको मेसिन भित्र्याएर अस्पतालले क्यान्सरको उपचार सेवा सुरु गरेको हो । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा सेवा रहेका छन् । दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ । अहिले दैनिक ६ जना क्यान्सरका नयाँ विरामी आउने गरेका छन् । दैनिक १२ जनाले रेडियसन सेवा लिइरहेका छन् । सिएमसीमा उपचार गराउँदा केन्द्र सरकारले लिने एक लाख छुटको सुविधा पनि पाउने छन् । भने बागमती प्रदेशमा रहेकाहरूको हकमा प्रदेश सरकारले उपलब्ध गराउने पचास हजारको छुट पनि पाउने छन् ।
अस्पतालमा भारत, अमेरिका र चीनमा काम क्यान्सर उपचारमा संलग्न विशेषज्ञ चिकित्सक रहेका छन् । अस्पतालका अनुसार रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि आवश्यक छ ।
अस्पतालको भवनसंगै शैयाको क्यान्सर इन्स्टिच्युट स्थापना गरिएको छ । रेडियसन विकिरणको जोखिम न्यूनीकरण हुनेगरी भवन निर्माण गरिएको देवकोटाले बताए । ‘भवन निमार्णमा उच्च प्रविधि अपनाएर रेडिसन प्रुफ भवन बनाएका छौं,’ उनले भने ।
उच्च प्रविधिको मेसिन
सिएमसीमा अत्याधुनिक प्रविधिको मेसिन जडान गरिएको छ । संसारमै पछिल्लो पटक भित्रिएको मेसिन ट्र्यु विम डीएफ सिक्स डि काउच र हाइपर आर्क रेडियोथेरापी मेसिन जडान गरिएको छ ।
एसआरएच (स्टेरोट्याक्टिक रेडियो सर्जरी) र एसबिआरटी (स्टेरोट्याक्टिक बडी रेडिएसन थेरापी) प्रविधि भित्र्याइएको छ । एसआरएचबाट शरिरको ब्रेन ट्युमरको उपचारमा टाउकोको शल्यक्रिया नगरी सोझै रेडियसन गरिन्छ । ‘जुन ठाँउमा चाहिएको हो त्यही ठाँउमा एक पटकको रेडियसनले कोष मार्छ,’ क्यान्सर विभागका डा. सुवास ठाकुरले भने, ‘ब्रेन ट्युमर भएकालाई टाउकोको अप्रेसन नगरी उपचार गर्न मिल्छ ।’
एसआरबिटी प्रविधि अनुसार टाउको बाहेकका शरिरका अन्य भागमा उच्च डोजको रेडियसन दिइन्छ । यस अन्र्तगत फोक्सोको क्यान्सर, प्रोस्टेड, चौंथो स्टेजमा पुगेको ढाडको हड्डीमा सेकाइ गरिन्छ । त्यस्तै बे्रकीथेरापी मेसिन जडान गरिएको छ । पाठेघरको मुखको क्यान्सर, स्तन, जिभ्रोको सुरुवाती अवस्थाको क्यान्सरको उपचार सहज र छिटो हुने सिएमसीले जनाएको छ ।