फागुन १९, काठमाण्डाै
नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति चुनाव नजिकिएसँगै उम्मेदवार नेम्वाङले आज शुक्रवार आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको हो । भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गर्नुभएको र अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने बताउनुभएको लोसपा नेता राजेन्द्र महतोले बताउनुभयो । उहाँले आफू आठ दलीय गठबन्धनमा सहभागी रहेकाले पार्टीको बैठकबाट नै यसबारेमा निर्णय गर्ने जवाफ दिएको बताउनुभयो ।
त्यस्तै भेटपछि नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अहिलेको राष्ट्रपति चुनावमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले राष्ट्रपतिजस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्न नहुने टिप्पणी गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘अहिलेको राष्ट्रपति चुनावमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी हो । संविधान, कानुन बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ नै उपयुक्त हुनुहुन्छ । लाेसपाले बैठक बसेर निर्णय गर्ने कुरा गरेकाे छ तर उहाँहरूको प्रतिक्रिया सकारात्मक पाएका छौँ ।’
सचिव भट्टराईले राष्ट्रपतिका उम्मेदवार नेम्वाङ र प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेट भएको र प्रधानमन्त्री सकारात्मक रहेको बताउनुभयो ।