दोहा, २३ फागुन
कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । साथै उहाँले अर्का एक जनालाई गृहमन्त्री बनाउनुभएको छ ।
अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिनुभएको राजीनामा अमिरले स्वीकृत गर्नुभएको छ ।
विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । उहाँले नियुक्तपछिको केही घण्टामै पद तथा गोपनीयताको शपथ लिनुभएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
गत वर्ष यहाँ आयोजित विश्वकप फुटबल प्रतियोगिताका निम्ति गठित सरकारी सुरक्षा समितिको नेतृत्व गर्नुभएका शेख खलिफा बिन हमाद बिन खलिफा अल थानी गृहमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले लेखविया आन्तरिक सुरक्षा बलमा पनि सेवा गर्नुभएको थियो ।
बयालीस वर्षीय नवनियुक्त प्रधानमन्त्री अब्दुलरहमान अल थानी अर्थशास्त्री हुनुहुन्छ । कतारी अमिरको उमेर पनि उहाँकै हाराहारीमा छ । गृहमन्त्री पनि उहाँहरूकै समकालीन हुनुहुन्छ ।
पचपन्न वर्षका पूर्वप्रधानमन्त्री सन् २०२० को जनवरीदेखि सरकार प्रमुख हुनुहुन्थ्यो ।
केन्द्रीय बैंकका गभर्नर शेख बन्दर बिन मोहम्मद बिन साउद अल थानी विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष मध्येको एक कतार लगानी प्राधिकरणको अध्यक्ष बन्नुभएको छ । यसअघि नयाँ प्रधानमन्त्रीले उक्त पद सम्हाल्नु भएको थियो ।
नयाँ सरकारमा रक्षामन्त्री खालिद बिन मुहम्मद अल–अतियाह उपप्रधानमन्त्री बन्नुभएको छ ।
वर्तमान अमिरका पिता शेख हमाद बिन खलिफा अल थानीले सन् २०१३ मा आफ्नो सुपुत्रका निम्ति राजगद्दी त्याग गर्नुभएको थियो । अठार वर्षअघि उहाँले रक्तपातरहीत ढङ्गले आफ्नै पितालाई सत्ताच्युत गर्नुभएको थियो ।
अमेरिका समर्थक वर्तमान अमिरले देशको विदेश नीतिमा कुनै ठूलो परिवर्तन गर्नुभएको छैन । यद्यपि विशाल प्राकृतिक ग्यास भण्डार भएको सानो राज्य कतारले वैभवशाली राष्ट्रका रूपमा आफ्नो परिचय अन्तर्राष्ट्रिय जगत्मा स्थापित गरेको छ ।
अघिल्लो दशकको तुलनामा जनसङ्ख्या एक तिहाइले बढेर तीस लाख पुगेको छ । आप्रवासी कामदारहरूका कारण त्यसो भएको हो । कतारका आप्रवासी कामदारमाथि राज्यले गर्ने व्यवहारलाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रमा बेलाबेलामा यो सानो राष्ट्रको चर्चा परिचर्चा पनि हुने गरेको छ ।
राजनीतिक दलहरू अझै पनि प्रतिबन्धित छन् तर कतारीहरूले सन् २०२१ मा एक परामर्श परिषद्को पहिलो प्रत्यक्ष चुनावमा भाग लिए । कतारले अन्तर्राष्ट्रिय खेलकुदको केन्द्र बन्ने अभियानको रूपमा गत वर्ष विश्वकप फुटबल प्रतियोगिता आयोजना ग¥योभने भूराजनीतिक विवादहरूमा ठूलो कूटनीतिक र मध्यस्थताको भूमिका पनि खोजेको थियो ।
(रासस/ एएफपी)