नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका सकारात्मक कामलाई नकरात्मक रुपमा प्रचार नगर्न आग्रह गर्नुभएको छ । दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।
सरकारका प्रवक्ता शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “पटक पटकको घेराबन्दीकै समयमा पनि सरकारले पाठ्यपुस्तक समयमै विद्यालयमा पुगाउने, बैदेशिक रोजगारमा जानेहरुको लागि सामाजिक सुरक्षाको व्यवस्था गरिएको छ ।”
सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गतको ज्येष्ठनागरिक भत्ता कटौती गर्ने विषयमा सोच्नै नसक्ने भन्दै उहाँले सरकारलाई बदनाम गराउन खोजिएको बताउनुभयो । माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहनुभएकी मन्त्री शर्माले सरकारले गरेका सकारात्मक कामलाई पार्टी कार्यकर्ताले जनतासामु लैजान र जनताका समस्या सरकारसम्म ल्याउन पनि आग्रह गर्नुभयो ।
सरकारले बर्षा अगाडि नै मलखादको समस्या हल गर्ने उहाँले बताउनुभयो । मन्त्री शर्मा मिटरव्याजी समस्या सदाको लागि अन्त्य गर्ने कानुन ल्याउने प्रक्रियामा सरकार रहेको बताउनुभयो । व्यवस्था नै असफल भयो भन्नु उचित नहुने भन्दै उहाँले गणतन्त्रकै फाइदा लिइरहेकाहरुबाट गणतन्त्रको विरोध हुनु शोभनीय नभएको बताउनुभयो । ‘गणतन्त्र व्यवस्थाको उपयोग गरिरहने, गाली पनि गरी रहने र पछि फर्कने कुरा शोभनीय होइन, बरु व्यवस्था बलियो बनाउनेतर्फ लाग्न आवश्यक छ’ उहाँले भन्नुभयो ।
दाङको राजपुर गाउँपालिका –६ का वडा अध्यक्ष श्यामवहादुर रोकाले मन्त्री शर्मासँग नेपाली सिम चलाउन पाउनेगरी व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले राजपुर गाउँपालिकाको दुई स्थानमा नेपाल टेलीकमले टावर राखे पनि टावरले गाउँपालिकाका बस्तीमा काम नगरेको बताउनुभयो ।
यस्तै, लमही नगरपालिकाका डिलकुमार श्रेष्ठले लमही नगरक्षेत्रको गौरवको योजनाको रुपमा अर्जुन सरोवरलाई पूरा गर्न पहल गरिदिन आग्रह गर्नुभयो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विकास निर्माणभन्दा मानवीय आवश्यकतालाई लक्षितगरी सरकारले बजेट ल्याउन आग्रह गर्नुभयो । ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले यसपाली सरकारले बजेटमा धेरै परिवर्तन गरेर जनमैत्री बजेट ल्याउने तयारी गरेको बताउनुभयो ।