पृथ्वी राजमार्गस्थित धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सीमामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिँदा सवारी आवगमन प्रभावित भएको छ । उक्त सडकमा अहिले सवारीको लामो लाइन लागेको छ ।
भासिएको पुलमा नेपाली सेना, प्रहरी, स्थानीय तथा यात्रुको सहयोगमा ग्याभिन जाली भर्ने काम भइरहेको छ । यातायात सेवा सञ्चालन हुन अझै ५/६ घन्टा लाग्ने धादिङका ट्राफिक प्रहरी प्रमुख उद्धव पोखरेलले जानकारी दिए ।
सोमबार दिउँसो परेको पानीले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्केतर्फको पुलको एकापट्टीको भाग भासिँदा सडक एकतर्फी रुपमा सञ्चालन भएकोमा अपराह्न ४ बजेदेखि पुलमा पूर्ण क्षति हुँदा दुवैतर्फ यातायात पूर्णरूपमा ठप्प भएको हो ।
पुल भासिएर यातायात ठप्प भएपछि केही साना सवारी फर्किएका छन् भने केहीले अस्थायी रुट प्रयोग गरिरहेका छन् ।
ठूला सवारी जाममा छन् । लामो जाम हुन नदिन मलेखु, गलौदी, गल्छीलगायत फराकिलो ठाउँमा सवारी रोकिएको पोखरेलले जानकारी दिए ।