प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताउनु भएको छ ।
बुधवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यो विषयमा आफूले भारतीय पक्षसँग गम्भिरतापूर्वक कुरा उठाएको स्पष्टिकरण दिनु भएको हो ।
प्रधानमन्त्री दाहालले मिडियामा यसबारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि बताउनु भयो ।
उहाँले यस विषयमा भारतसँग अझ बढी अध्ययन र छलफल गर्ने आश्वासनसमेत दिनु भयो । प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘पहिलो कुरा संसदको नक्साबारे कुरा भयो । मैले गम्भीररुपमा नै उठाएँ । किनकि त्यो धेरे अध्ययन भइसकेको त थिएन । तर पनि जसरी मिडियामा आएको थियो । त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ ।’
उहाँले अगाडि भन्नुभयो, ‘नयाँ संसद भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरुले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिए । यो कुनै राजनीतिक नक्सा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरुको जवाफ थियो ।’
प्रधानमन्त्री दाहालले भारतको नयाँ संसदमा राखिएको नक्सा सांस्कृतिक नक्सा भएको कुरा पनि भारतीय पक्षले राखेको बताउनु भयो ।