माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चाको घोषणा हुँदैछ। भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहबाट मोर्चा घोषणा गर्ने कार्यक्रम केहीबेर अघिदेखि सुरू भएो छ। समाजवादी मोर्चामा नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लबलगायतका नेताहरुबीच लामो समयपछि सहमति जुटेपछि आज समाजवादी मोर्चा घोषणा हुन लागेको हो।
१५ बुँदे नीतिगत प्रतिबद्धता पनि जारी गर्ने बताइएको छ। कांग्रेस र एमाले पछि तेस्रो शक्ति बनाउने गरी समाजवादी मोर्चा निर्माण गरिएको हो। प्रतिनिधिसभामा माओवादीका केन्द्रका ३३, नेकपा एसका१० र जसपाका १२ सांसद छन्। चार दलको मोर्चा बनेसँगै सांसदको संख्या ५४ पुग्नेछ।
सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठन गरिएको नेताहरुले बताएका छन्। चार दलका शीर्ष नेता छलफलमा जुट्नु अगाडि दोस्रो तहका नेताहरुबीच पनि बिहान छलफल भएको थियो। असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भनेपनि आन्तरिक तयारी नपुगेको भन्दै मोर्चा घोषणा हुन सकेको थिएन।