सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै ‘स्टन्ट’ भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताउनुभएकाे छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधवार सुनाउँदै मन्त्री शर्माले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा रहेको सीता भारतकी छोरी हुन् भन्ने शब्द हटाएरमात्रै सेन्सर बोर्डले चलचित्र चल्न दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सेन्सर बोर्डले कुनै पनि चलचित्र चल्नुअघि सेन्सर गर्छ । सेन्सर बोर्डको नियमभन्दा विपरीत भयो भने त्यसलाई हामी सेन्सर गरेर मात्रै अनुमति दिन्छौँ । यो विषयमा पनि जेठ ३१ गते आदिपुरुष भन्ने चलचित्रमा भएको सीता भारतीय छोरी भन्ने आशयको अभिव्यक्ति हटाउने निर्णय त्यही बेलामा सेन्सर बोर्डले गरेको थियो । सेन्सर बोर्डले निर्णय गरेर मात्रै प्रदर्शनको स्वीकृति दिएको हो । चल्न दिने वा नदिने भन्नेमा सबैले आ–आफ्ना क्षेत्राधिकार बुझ्नुपर्छ । भावनात्मक हिसाबले हामी सबै एकै ठाउँमा छौँ । स्टन्ट, भावना र मनोविज्ञानमा खेल्नेभन्दा पनि यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।’
यस्तै मन्त्री शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतैपनि नलेखिएको बताउनुभयाे । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतै पनि नलेखिएको उहाँले बताउनुभएकाे हाे । बजेट संशोधन गरेर जानेबारेमा छलफल भइरहेको पनि उहाँकाे भनाइ छ ।
फरक प्रसङ्गमा उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिको उपचार खोज्न नभई स्वास्थ्य उपचारका लागि नै सिङ्गापुर जानुभएकाे बताउनुभयो ।