नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बजेट पारित गर्न नहुने निष्कर्ष निकालेको छ । बिहीवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै सांसदहरूले सरकारले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८०/८१ काे बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने बताएका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका सांसद राजेन्द्रप्रसाद पाण्डेले यस विषयमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताउनुभयो । उहाँले आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको बताउनु भयो । बजेट परिमार्जन गरी सन्तुलित बनाएरमात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयाे, ‘बजेटमा भएका असन्तुलनका सवालमा माननीय सदस्यहरू सबैले कडाइका साथ कुरा उठाउनुभएको छ । उहाँहरूले यथास्थितिमा यो बजेट पारित गर्नु हुन्न भन्ने बताउनुभएकाे छ । गठबन्धनमा रहेका सबै दलहरूका बीचमा छलफल गरेर, साझा ढङ्गले बसेर छलफल गर्नुस् भन्ने खालको कुरा भएको छ । सन्तुलित बनाएरमात्रै यो बजेट पारित गर्न सकिन्छ भन्ने खालको कुरा आएको छ ।’
सांसद पाण्डेले बजेटकै कारण सत्ता समीकरण भने नटुट्ने बताउनुभयो । तर बजेटमा भएको गलत कुरालाई सच्याउनुपर्ने उहाँको भनाइ छ । आउँदा दिनमा निर्वाचित सांसदको सल्लाह, छलफल र नागरिकसँगको सल्लाहमा ल्याएको प्रतिवेदनविना बजेट बनाउन नहुने उहाँले बताउनुभयो ।