सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने तयारी छ ।
आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय आज उद्घाटन गर्ने तयारी रहेको प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसका लागि आवश्यक तयारी पूरा भएको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजेपछि गोरखा जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
उद्घाटन कार्यक्रममा धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालालाई निमन्त्रणासमेत गरिएको छ ।कुल एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ ।
काठमाण्डौमा कम्पनीको प्रधान कार्यालय गएको असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नुभएको थियो ।इकाइको कार्यालय रहेको गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा कम्पनीको कार्यालय स्थापना हुनेछ ।
राष्ट्रिय गौरवको आयोजना शुरु भयो भनेर सन्देश दिन लागिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभएको छ ।सरकारले आयोजना प्रभावितलाई अहिलेसम्म ३४ अर्ब ३० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण गरिसकेको छ ।
त्यस्तै, घर गोठ, बोटबिरुवातर्फ छ अर्ब ७० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण भइसकेको छ ।मुआब्जा वितरणको काम अन्तिम चरणमा छ । आयोजना प्रभावितले अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गर्दै आएका छन् ।
यस्तै, मुआब्जा वितरणको काम तत्काल सम्पन्न गर्न तथा अन्य व्यवस्थापकीय कामलाई गति दिनसमेत उनीहरूको माग छ ।स्थानीयबासिन्दाले उठाएका मागलाई पनि सरकारले सम्बोधन गर्ने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।
चालु आर्थिक वर्षको बजेटमासमेत यो आयोजनाको निर्माण शुरु गर्ने उल्लेख छ । सरकारले आन्तरिक स्रोतको परिचालन गरेरै आयोजनाको निर्माण शुरु गर्ने बताउँदै आएको छ ।
आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमा भन्सार विन्दुमै कर उठाउँदै आइएको छ । आयोजनाबाट धादिङ र गोरखाका झण्डै ५० हजार मानिस प्रभावित हुनेछन् ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सन् २०१४ मा नै फ्रान्सेली कम्पनी ट्याक्टबेलले तयार पारिसकेको छ । आयोजनामा कूल दुई सय ६३ मिटर अग्लो बाँध निर्माण हुनेछ । त्यसबाट कूल ४५ मिटर लम्बाइको ताल बन्नेछ ।
धादिङको बेनीघाटबाट दुई किलोमिटर उत्तरमा बाँध निर्माण हुनेछ । बढी बिजुली माग हुने काठमाण्डौ, पोखरा, नारायणघाटलगायतका ‘लोड सेन्टर’ नजिकको आयोजनालाई महत्त्वपूर्ण मानिएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयकाे उद्घाटन गर्ने
प्रधानमन्त्री प्रचण्डले आज बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयकाे उद्घाटन गर्ने

Advertisement