भरतपुर : परदेशीको पिडाको कथामा केन्द्रीत गरेर निमार्ण गरिएको चलचित्र ‘ परदेशी २ ’ को प्रचार प्रसारको लागी कलाकार सहितको टोली देश दौडाहामा निस्किएको छ । असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको हो । विदेशमा पढ्न जाने विद्यार्थीहरुको कथा बोकेको चलचित्र भएको हुनाले प्रचारका लागी टोली कलेजहरुमा पुगेको हो । चलचित्र युनिटले बिहीबार र शुक्रबार चितवनमा केही कलेजहरुमा ‘विदाई’ शीर्षकको गिती नाटक प्रस्तुत गरेको थियो । चलचित्रका निमार्ता एवं निर्देशक नारायण रायमाझीले हरेक घरको कहानी बोकेको चलचित्र बनाएको बताए । उनले यसअघि गोर्खा पल्टन र परदेशी बनाएका थिए । गोरखा पल्टनमा उनले फौजी जीवनमा आधारित बनाएका थिए । परदेशीमा परिवारको खुसीका लागी खाडी मुलुक जाने नेपालीको कथामा केन्द्रीत गरेका थिए । यसपटक भविष्य खोज्दै पढ्नका लागी विदेशीएका युवा र तीनका आमाबुवाले पाएको पिडामा आधारित चलचित्र बनाएको बताए । कथाले हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाईलाई दुरुस्तै कथामा उतारेको रायमाझीले बताए ।
गीतसंगीतलाई चलचित्र जसरी छनक दिने गायक तथा संगीतकार एवम् परदेशी २ बाट पहिलो पटक चलचित्रमा पाइला चालेका नायक प्रकाश सपुतले चलचित्रको कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रहेर जोडिएको बताए । गीतसंगीत गर्नु र चलचित्र गर्नु विल्कुलै फरक रहेको र परदेशी २ मा जोडिँदा चुनौती नै मोलेर यस चलचित्रमा आवद्ध भएको उनले बताए । ‘नारायण सर र म गीतसंगीत कै भएकाले काम गर्न त्यति असहज भएन’ सपुतले भने । चलचित्रमा उनलाई एउटा विदेशिने विद्यार्थीको भूमिकामा देखिने जानकारी दिए । परदेश हुदाँ घर, साथी, पढाई साथै काममा हुने भोगाइ र यादहरुलाई चित्रण गरिएको उनले बताए ।
नायिका केकी अधिकारीले चलचित्रको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको जनाइन् । चलचित्रमा एकजना परदेशी हुँदा उसको परिवार त सधै उसको पर्खाइमा रहने भयो तर उसँग जोडिएको उसको प्रेमलाई पनि चलचित्रमा देखाएको उनले बताइन् । साथै देशमै गरे यही सुन फल्छ भन्ने मूलमर्म चलचित्रले बोकेको अधिकारीले बताइन् ।चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष गोविन्द अर्यालले चलचित्र सफलताको शुभकामना दिए ।
चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी र वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ, दीलिप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ ।