भरतपुर, २० माघ । सबैले आदर र सम्मानका साथ लिने नाम, ‘देवी म्याडम’ । वाल्मीकि शिक्षा सदनमा सबैमाझ कहलिएकी शिक्षिका, जसले अरुको भविष्य बनाउन जीवनको आधा उमेर बिताइन् । बिहान साढे आठ बजे स्कुल पुगेर विद्यार्थीको स्वागत अनि अभिभावकसँग भलाकुसारीमा व्यस्त हुन्थिन् । सधैँ हँसिलो देखिने उनको अनुहार शुक्रबार भने केही मलिन थियो । उक्त दिन २७ वर्षको शिक्षण पेशा बिट मार्ने दिन थियो । आफ्नो उर्जाशील जीवन विद्यार्थीका लागि बिताएकी शिक्षिका देवी अधिकारीको स्कुल यात्रा अन्तिम थियो ।
अपरान्ह चार बजे भेला भएका अन्य शिक्षिकाहरुको अनुहार पनि उज्यालो थिएन । बिदाईको लागि जम्मा भएका शिक्षिकाहरु भावुक देखिन्थे । एकअर्कामा मुखामुख गरे । कोही बोल्न सक्ने अवस्थामा थिएनन् । अधिकारीसँगै पढाउन थालेकी शिक्षिका बिष्णु कँडेलले बिदाइको क्षणलाई सम्बोधन गर्न लाग्दा बोल्नै सकिनन् ।
जब फुलमाला गरेर विदाई गर्न थालियो , कसैको आँसु थामिएन । सबैका आँखा रसाउन थाले । शिक्षिकाहरुलाई विदाई गर्न निकै कठिन भयो । विदाईको क्षणमा अङ्गालो हालेर भक्कानिए ।
अधिकारीको पनि मन थामिएन । आफ्नो जीवनको महत्वपूर्ण समय बिताएको विद्यालयसँग उनको भावनात्मक सम्बन्ध जोडिएको छ । सबैलाई धन्यवाद दिएर देवी बिदा भइन् । `बोलिचाली व्यवहार आमाजस्तै थियो । गाली पनि गर्ने, माया पनि । सहकर्मी भन्दापनि अभिभावक जस्तै हुनुहुन्थ्यो । बिदाईले नरमाइलो त हुने नै भयो ।´ शिक्षिका बेबी रिजालले भनिन्- `उहाँले गरेको माया र व्यवहार सम्झिएर सबैको आँखा रसायो । बिदाइको नरमाइलोले रुवाबासी भयो ।´
वाल्मीकिमा उनले एउटा युग नै पढाइन् । वाल्मीकि स्कुलको स्थापनादेखि कार्यरत हुन् देवी । मिलनसार स्वभावकी उनी सबैसँग मित्रवत व्यवहार गर्थिन् । ‘मेरो घर भन्दा बढी माया गरेर सुरुदेखि पढाएकी हुँ । छुटिने बेला निकै नरमाइलो लाग्ने रैछ´ उनले भनिन्- `साथीहरुको आँखामा देखेको आँसुले बल्ल थाहा पाएँ कि मैले सबैको माया पाएकी रहेछु ।’ २०५३ सालदेखि पढाउन थालेकी हुन् । ‘छोराछोरी परिवारलाई भन्दा बढी उनी स्कुललाई समय दिन्थिन् , ’ देवीका श्रीमान चक्र अधिकारीले भने , ‘वाल्मीकिमा उनको श्रम मात्रै होईन जीवन नै समपर्ण भएको हो ।´