बुटवल — सहकारीको रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईं पक्राउ परेका छन् । बचतकर्ताको एक अर्ब भन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई बुटवल प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ परेका दुवैले गितेन्द्रबाबु राई नेतृत्वको सहकारी सुप्रिम मार्फत १० हजार ३ सय ९१ जना बचतकर्ताहरूको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७ सय २९ रुपैंयाँ रकम हिनामिना गरेको आरोप छ । लुम्बिनी प्रदेशको सहकारी रजिस्टर कार्यालयको प्रतिवेदन र बचतकर्ताहरूको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई शुक्रबार पक्राउ गरी अनुसन्धान सुरु गरीएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गगरिएको हो । ‘संकलन रकमको विवरण, ऋण लगानीको अवस्था र रकम अप्रचलनको अवस्थाको अध्ययन भइरहेको डिएसपी पण्डितले बताए । शुक्रबार नै अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । संस्थाका पूर्व अध्यक्ष एवं अहिलेका संरक्षक जिबी राई भने फरार छन् ।
सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न ५ कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६ सय ६५ रुपैयाँ रकम उपलब्ध गराएको देखिएको छ । उक्त रकम कागजी प्रक्रिया पूरा नगरी ऋणको रुपमा उपलब्ध गराएको बचतकर्ताको आशंका छ । सुप्रिम सहकारीबाट विभिन्न मितिमा राई अध्यक्ष र रास्वपाका सभापति रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न ५ वटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८ सय ६०, जिबी ग्रुप एण्ड कम्पनी लिमिटेडमा विभिन्न ७ वटा मितिमा गरी १४ करोड ९९ लाख ५९ हजार ५ सय २०, स्प्रिङ उड रियल स्टेड हाउजिङ प्रालिमा ३ वटा मितिमा ६ पटक गरी १८ करोड २१ लाख ७८ हजार १ सय ८३ रुपैयाँ रकम लगेको देखिएको छ ।
त्यस्तै राई सञ्चालक रहेको नेचर नेष्ट प्रालिमा विभिन्न ३ वटा मितिमा २ करोड ८९ लाख ७१ हजार ८ सय ८५ र गितेन्द्रबाबु राईको नाममा ३ वटा मितिमा ६ करोड २० लाख ८८ हजार ४ सय ८९ रुपैयाँ गरी ७८ करोड ५० लाख ७६ हजार बढी रकम लगेको लुम्बिनी प्रदेश सहकारी रजिष्टारको प्रतिबेदनमा देखिएको छ । विभिन्न ५ वटा कम्पनीमा लगेको ऋणवापत राईले सहकारीलाई व्याज मात्रै ९ करोड १९ लाख १ सय रुपैयाँ बुझाउनु पर्ने देखिन्छ । सावाँ र व्याज गरी ८७ करोड ६९ लाख ७६ हजार ७ सय ६५ रुपैयाँ लिएर राई झन्डै एक वर्षदेखि सम्पर्कविहीन छन् । त्यस्तै बुटवलका व्यवस्थापक सागर केसी पनि पछिल्लो ६ महिनापछि सम्पर्कविहीन भएका छन् । प्रहरीले राई, केसीसहित सञ्चालकमा रहेका अन्य ७ जनालाई पनि खोजिरहेको छ ।
सहकारीले बुटवल र भैरहवा आसपासका ऋणीहरूबाट मात्रै पनि ३ करोड ९८ लाख १९ हजार ७ सय ७५ रुपैयाँ ब्याज मात्र असुल गर्नुपर्ने प्रतिवेदनमा देखिएको छ ।