भरतपुर : भरतपुर महानगरपालिकालाई ब्यवस्थित बनाउन नगर प्रहरीलाई तयारी अवस्थामा राखिएको छ । नगर प्रहरी परिचालन गरेर महानगरका अवैध संरचना हटाउने, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण , महानगरको सौन्दर्यकरण लगायतका कामहरु अगाडि बढाउने महानगरले तयारी गरेको छ । महानगरपालिकाका २८ नगर प्रहरी दिक्षित भए । ६ हप्ताको आभारभूत तालिम पुरा गरेका २८ जना नगर प्रहरीहरूलाई आईतवार दीक्षित गरिएको हो ।
महानगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वन गराउन , सार्वजनिक सम्पतिको सुरक्षा, संरक्षण र अतिक्रमण रोकथाम तथा नियन्त्रण, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयहरुको कार्यान्वन, बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन र विपद् व्यवस्थापन नगर प्रहरीको जिम्मेवारी रहेको महानगरले जनाएको छ । महानगर प्रमुख दाहालले महानगरको गरिमालाई उच्च राख्दै अनुशासित, निष्पक्ष, इमान्दार र कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिईन् । शान्ति, सुरक्षा, फुटपाथ व्यवस्थापनमा उदाहरणिय काम गर्न आग्रह गरिन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले महानगरका हरेक गतिविधिमा नगर प्रहरीले सक्रियताका साथ भूमिका निर्वाह गरी सुन्दर, शान्त महानगर निर्माणमा सहयोग गर्न आग्रह गरे । यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले महानगरका निर्णयलाई अक्षरस पालना गराउनु नगर प्रहरीको दायित्व भएकाले बिना कुनै त्रास काम गर्न अनुरोध गरेका छन् ।
विस २०५२ सालमा ५ जना नगर प्रहरीको दरबन्दी लागु भएको महानगरपालिकामा क्रमशः दरबन्दी थप भई हाल संख्या ७३ जना कार्यरत छन् । गत पुस ६ गतेदेखि महानगरपालिकाको नगर प्रहरी प्रमुखको कमाण्ड कृष्णहरि ढकालले गरेका छन् ।