चितवन, २४ फागुन । शुक्रवारबाट भरतपुरमा नेपाल फर्मा एक्स्पो २०२४ हुदैछ । चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुन लागेको एक्स्पोको तयारी पुरा भएको छ । नेपाल औषधी उत्पादक संघको आयोजनामा एक्स्पो हुन लागेको हो । एपोनका बरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटाले सबै तयारी पूरा भएको बताए । ‘सबै प्रदर्शक आईसक्नु भएको छ, स्टलहरु तयारी भईसकेका छन् ,’ उनले भने । उदघाटन अघि बिहान ७ बजे भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रबाट सुरु हुने प्रप्रभातफेरीले भरतपुरको विभिन्न भागको परिक्रमा गर्ने आयोजकले जनाएको छ । एक्स्पोको उद्घाटन बिहान १० बजे तय गरिएको छ ।
एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । नेपाल सहित भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने मेसिन–उपकरण, ल्याब , कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएको छ । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ ।
संघले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ एक्स्पो आयोजना गरेको एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले बताए । नेपाली औषधि उद्योगको विकास र प्रर्वद्धनका लागी नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा एक्स्पोमा जानकारी दिइने उनले बताए । नेपाली औषधि उत्पादकले अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगबाट हुने उत्पादनको तरिका , गुणस्तरको बारेमा एक्स्पोबाट जानकारी हुने बरालले बताए । ‘अझै नेपाली आम नेपालीलाई नेपाली औषधिको गुणस्तर विदेशी जस्तो छैन भन्ने भ्रम छ । एक्स्पोमा अवलोकन गरेपछि त्यो भ्रम निवारण हुन्छ । ’
नवौं नेपाल फर्मा एक्स्पो २०२४ लाई सफलतापूर्वक आयोजना गर्नको लागि एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि, ज्ञानसान र स्याम टोयल प्याकेजिङ्ग गोल्ड स्पोन्सरको रुपमा रहेका छन् । यसैगरी सिल्भर स्पोन्सर आदित्य इन्जिनियरिङ र एकुरेट्स मेसिन र कर्पोरेट्स स्पोन्सरमा आस्था इन्टरनेसनल मिडिया सपोर्टमा स्वास्थ्य पत्रकार मञ्च, डिजिटल पार्टनरमा खल्ती डिजिटल, इभेन्ट पार्टनरमा टोयोटा, एथर र टाटा मोटर्स, इभेन्टमा माइस नेपाल रहेका छन् ।
नेपालको औषधी उद्योगको सबभन्दा ठूलो र महत्वपूर्ण पर्वको रुपमा रहेको यस एक्स्पोको आम सर्वसाधारणसँगै चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी, सञ्चारकर्मी, उद्योगीले गर्नेछन् ।