रत्ननगर, फागुन २५ । रत्ननगर । नेपाल बजार विक्री प्रतिनिधि संघको प्रथम राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा सुरु भएको छ । २०५८ सालमा स्थापना भएको सो संघ श्रम मन्त्रालयमा स्वतन्त्र ट्रेड युनियनको रुपमा दर्ता भएपछि चितवनमा प्रथम महाधिवेशन गरिएको हो । महाधिवेशनको प्रतिनिधि सभा सांसद हरि ढकालले उद्घाटन गरेका छन् । दुई दिन सम्म चल्ने सो महाधिवेशनमा देशभरबाट ४०० प्रतिनिधि सहभागी छन् ।
महाधिवेशनले संघको नयाँ कार्यसमिति समेत चयन गर्ने छ । संघको अध्यक्षको लागि वर्तमान अध्यक्ष नरेन्द्र विष्ट, बरिष्ठ उपाध्यक्ष पदमप्रसाद भट्टराई र केन्द्रीय सदस्य किरण अधिकारीको नाम चर्चामा रहेको छ । महाधिवेशनको बन्दसत्रमा नयाँ नेतृत्व चयनका लागि सहमती हुन नसके निर्वाचन प्रक्रिया मार्फत नयाँ समिति चयन गरिने छ । निर्वाचन भए अध्यक्षका आकांक्षी तीनै जनाले उम्मेदबारी दिने बुझिएको छ ।
संघको यस अघि ५१ सदस्यीय कार्यसमिति रहदै आएकोमा प्रथम महाधिवेशनबाट विधान संशोधन गरी ३१ सदस्यीय बनाउने तयारी गरिएको संघका सचिव रमेश नेपालले जानकारी दिए । महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, सात प्रदेश उपाध्यक्ष, महासचिव र उपमहासचिव सहित १६ जना सदस्य निर्वाचित हुनेछन् । ४ जना सदस्य समितिको पहिलो बैठकले मनोनित गर्नेछ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद ढकालले संघलाई राजनीतिसंग जोडेर अछुतो नबनाउन आग्रह गरेका छन् । राजनीतिसंग जोडिएका ट्रेड युनियनहरुले श्रमिकको हितमा काम गर्न नसकेको भन्दै उनले राजनीतिलाई भन्दा व्यवसायिक सुरक्षामा ध्यान दिन आग्रह गरे । अर्को प्रसंगमा उनले प्रचण्ड सरकारलाई उसको कार्यसम्पादकका आधारमा समर्थन गर्ने बताए । बर्तमान राजनीति यथास्थितिमा रहेको उल्लेख गर्दै उनले आफ्नो पार्टी सरकारमा रहेपनि गुण र दोषका आधारमा खबरदारी गर्ने बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष ऋषि अधिकारीले ट्रेड युनियनमा गएपछि कार्यसम्पादनलाई प्रभावकारी बनाउदै श्रमिकको पेशागत सुरक्षा र सेवा सुविधाको मुद्दालाई प्रमुख बनाएर काम गर्नुपर्ने बताए ।
संघका संस्थापक अध्यक्ष प्रेमप्रसाद गौतमले श्रमिकको अधिकार स्थापित गर्न अबको कार्यदिशा तय गर्नुपर्ने भन्दै श्रम ऐनले तोकेको सेवा सुविधा श्रमिकले पाउने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । संघका अध्यक्ष नरेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रमेश नेपालले संघको संस्थागत संरचना र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, पूर्वी चितवन मदिरा व्यवसायी संघका अध्यक्ष मनिष अधिकारी नेपाल बजार विक्री प्रतिनिधि संघका महासचिव पदमप्रसाद भट्टराई लगायतले मन्तव्य राखेका थिए । संघका महासचिव कुमार तिमिल्सिनाले सञ्चालन गरेको सो कार्यक्रममा संघ अन्तर्गतको नारायणी क्षेत्रीय समितिका अध्यक्ष छन्दराज अर्यालले स्वागत मन्तव्य राखेका थिए ।