२० असार, विराटनगर । केन्द्रमा एमाले र कांग्रेसको नयाँ गठबन्धन बनेपछि सरकारबाट बाहिरिने तयारीमा रहेको माओवादी केन्द्रका मन्त्रीलाई राखेर कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले समिति निर्माण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकल तीन वटा समिति गठन गरेको हो ।
बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनिक समिति गठन गरेको छ । जसको सदस्यमा स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई र पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जामगर सदस्य छन् । कार्की र बुर्जा माओवादी केन्द्रका हुन् ।
त्यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको संयोजकत्वमा कानून न्याय तथा प्रदेश मामिला समिति बनाएको छ । जसको सदस्यमा भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र सदस्य सचिवमा मुख्यमन्त्री कार्यालयका कानून तथा संवैधानिक मामिला महाशाखाका सचिव रहेका छन् । उप्रेती माओवादीबाट मन्त्री बनेका हुन् ।
स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीको नेतृत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समितिको गठन गरेको छ । सदस्यहरुमा भने आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, खानेपानी सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की र सदस्य सचिवमा मुख्यमन्त्री कार्यालयका शासकीय सुधार महाशाखाका सचिव रहेका छन् । समिति संयोजक कार्की र सदस्य उप्रेती माओवादी केन्द्रका हुन् ।
केन्द्रमा सरकार फेरिएपछि कोशीमा पनि माओवादी सरकारबाहिर जानेछ । प्रदेशबाट बाहिरिने विषयमा केन्द्रको निर्देशन कुरिररहेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।