दसैं र चाडबाडको मुखमा भएको चर्को महँगीको मारमा सर्वसाधारण छन्। तीज, दसैं, तिहार, छठ जस्ता पर्वमा खाद्यान्नदेखि विलासितका वस्तु बढी खपत हुन्छन्। यही मौका छोपेर कतिपय व्यापारी र व्यवसायीले कृत्रिम मूल्य तोक्ने गर्छन्। त्यसको मारमा सर्वसाधारण पर्छन्। सरकारले बजार अनुगमन जारी राखे पनि मूल्यवृद्धि भने घटेको छैन।
हाल तरकारी र फलफूलको मूल्य यति धेरै बढेको छ कि, छोइ नसक्नु छ। राष्ट्र बैंककै तथ्यांकले पनि यसको पुष्टि गरेको छ। राष्ट्र बैंकले चालु आवको पहिलो महिना साउनमा मात्रै तरकारीमा वार्षिक १९.०७ प्रतिशतले मूल्यवृद्धि भएको बताएको छ। वास्तविक बजार त्योभन्दा बढी महँगो छ। जसका कारण, भान्छा झन् महँगो हुँदै गएको छ। यद्यपि केन्द्रीय बैंकले भने चालु आवको सुरुवातमा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) सीमाभित्रै रहेको दाबी गरेको थियो। गत वर्षको तुलनामा महँगी नियन्त्रण भएको केन्द्रीय बैंकको दाबी छ। साउनमा वार्षिक मुद्रास्फीति औसत ४.१० प्रतिशत थियो। गत वर्षको साउनमा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत थियो।
नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै तरकारीमा १९ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भइसकेको। त्यस यता बाढी पहिरोले मुख्य राजमार्ग अवरुद्ध हुँदा तरकारी र फलफूलको मूल्य छोइनसक्नु छ। खाद्यान्न, लुगाकपडादेखि शिक्षा, स्वास्थ्य सेवा शुल्कसमेत बढेको छ। आम्दानीभन्दा खर्चको भार बढ्दा सर्वसाधारणको दैनिकीमै असर परेको छ।बजार अनुगमन, नियमन, आपूर्ति नीति र आपूर्ति अवस्थाबारे सरकारले हस्तक्षेप नगर्दा बजारमा मूल्यवृद्धि भएको उपभोक्ता अधिकारकर्मी बताउँछन्। उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण बजारमा मूल्यवृद्धि भएको बताउँछन्।