बेल्जियम, २१ असोज । मुलुक बाहिर रहेर प्रगती गरेकाहरुको जीवनलाई पत्रकार मणिराज गौतमले पुस्तक प्रकाशन गरेका छन् । जीवनको संघर्ष र सफलताको कथालाई जोडेर उनले प्रेरणादायी पुस्तक ‘प्रवासका फूलहरु ’ तयार गरेका हुन् । पुस्तकको बेल्जियममा विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष रहेका लेखक गौतमले का मुलुकका असल छोराछोरीका जीवन्त कथा लेखिएको बताए । करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विमोचन गरिएको हो । पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति ,परिवारिक अवस्था, वैदेशिक संघर्षलगायतका वास्तविक कथा समावेश गरिएको गौतमले बताए । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरु’को बेल्जियममा विमोचन गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतले पुस्तकको विमोचन गरे ।
पुस्तक विमोचन गर्दै राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरुका अनुभवलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश विकासमा ठूलो सहयोग पुग्ने बताए । पुस्तक युरोपका नेपालीहरुको दस्तावेजको रुपमा रहने भएकाले पनि इतिहास बन्ने बताए । राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, संघर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरुले कसरी विश्वसामु फैलाई रहेका छन् भन्ने विषय लिपिबद्ध गरी पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यवादसहित शुभकामना व्यक्त गरे ।
यस्तै, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतीका बीचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेको बताइन् । सबैका आ-आफ्नै भोगाईलाई आफ्नो पुस्तासामु जानकारी दिलाउन पुस्तकले भूमिका खेल्ने सापकोटाले बताइन् । ।
नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविष्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका सत्य कथाहरु संकलन गरेकोमा पत्रकार गौतमप्रति आभार प्रकट गरे । आफ्नो जन्मभूमि छोडेर फरक भूगोल संस्कार र संस्कृतिमा आफूलाई स्थापित गर्न नेपालीहरुले युरोपमा गरेका संघर्षका कथाहरु प्रेरणादायी बन्ने बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तकमाथि टिप्पणी गर्दै पुस्तक अभिलेखका रुपमा रहने भएकाले यसको महत्व उच्च्तम हुने बताए ।
कार्यक्रममा अनेसास बेल्जियमका महासचिव गोपाल दाहालले पुस्तकमाथि टिप्पणी गर्दै निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताए । दुई सय अठासी पेज रहेको पुस्तकको टिप्पणी गर्दै दाहालले अन्तर्वातामा आधारित भएर पुस्तक प्रकाशन भएको बताए । ।
यस्तै, अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको संघर्षको अन्तरकथा युरोपमा नेपालीहरुका दिब्य आशा, उन्मुक्त मनोभाव, उत्तेजना, सफलता-असफलताका कथा र संकल्पहरु समावेश गरिएको प्रवासका फूलहरु पुस्तक कलात्मक कृतिका रुपमा रहने बताए ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरि भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष विनोद न्यौपाने, जन सम्पर्क समिति बेल्जियमका उपसभापती विराट जोशीलगायतले कृति सफलताको शुभकामना व्यक्त दिए ।
पुस्तकमा लेखक संघ केन्द्रीय सदस्य हयगृव आचार्यको भाषा सम्पादन, कवि लेखक सम्प्रस पौडेलको कथा सम्पादन, श्रीराम दहाल र बिना देवकोटाको श्रुति लेखन रहेको छ भने पुस्तकको प्रकाशन, लेआउट डिजाइन आकृति कृयसन राम अविकास र वितरकमा किताब घर हेटौंडाका छवि अनित्यको रहेको छ ।