चितवन । पहाडी भेगमा रहेको चितवनको पुरानो सदरमुकाम उपरदाङगढी पर्यटकिय आकर्षणको केन्द्र हो । ऐतिहासिक थलोको अवलोकन सहित वनभोज सकेर विद्यार्थी बोकेर पदमपुरको चित्रवन माविको बस ओरालो लाग्यो । भिरालो बाटो झर्दै गरेको बस द्रब्यटार आएपछि एक्कासि ब्रेक फेल भयो । ब्रेक फेल भएको बसको स्टेरिङमा थिए बसका चालक जितेन्द्र चौधरी । उनले बसको ब्रेक फेल भएपछि विधार्थीलाई जोगाउन लागे । उपाय केही नलागेपछि बसलाई सडक छेउको भित्तामा ठोक्काए । उनले बस मात्रै ठोक्काएनन , बसमा रहेका ३२ जनाको ज्यान जोगाए । ‘ दुई वटा मोड सहजै पार गरेपछि ब्रेकले काम गरेन । पहिला आफुलाई सम्हाले अनि बसका विद्यार्थी कसरी जोगाउने भन्नेतीर लागे , ’ जीतेन्द्रले भने , ‘ त्यसपछि बसमा रहेकाहरुको ज्यान जोगाउनतीर सोच आयो । ठूलो घुमाउरो बाटो आएपछि बसलाई भित्तोमा ठोक्काए । ’
वनभोजमा गएर फर्कने क्रममा स्कुल बस दुर्घटना हुँदा २८ जना घाईते भएका छन् । चितवनको पहाडी भेग उपरदाङगढीमा वनभोज खाएर फर्कने क्रममा बस दुर्घटनामा परेको हो । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस शनिवार साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटना हुँदा २७ विद्यार्थी र एक शिक्षिका घाईते भएका छन् । ब्रेक फेल भएको थाहा पाएपछि सहचालक गोविन्द पौडेल विद्यार्थीलाई क्याविनबाट पछाडीको सिटमा सारेका थिए । यसबाट ठुलो मानविय क्षति हुनबाट जोगियो । कक्षा ५ देखि १० कक्षा सम्मका विधार्थी र शिक्षक थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । २२ जनाको चितवन मेडिकल कलेजमा र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको चितवन प्रहरी प्रमुख गौतम मिश्रले बताए । बसमा ३० जना विद्यार्थी सहित ३२ जना चढेका थिए ।