अनिल ढकाल, चितवन । ६ लेनको उच्चस्तरको हाईवे । रंगले छुट्टाइएका लेन , सडकका छेउमा बलेका बिजुली बत्ति । रातमा भरतपुर महानगरपालिकाको पुर्व–पश्चिम राजमार्गको दृष्यले विदेशको अनुभूति दिएको छ । फराकिला सडक , झलल देखिएको सडक । भरतपुरको मुख्य क्षेत्रसंगै विकास र सौन्दर्यताले भरतपुर धपक्क बलेको छ ।
भरतपुर महानगरमा निर्माणाधिन पुलचोक–गोन्द्राङ सडक अन्तर्गत पहिलो पटक सडक बत्ति बलेको छ । माघ १३ गते भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर–१०,रिजाल चोक स्थित फिडर प्यानलमा स्विच अन गरेर स्मार्ट सडक बत्तिको शुभारम्भ गरिन् । योसंगै भरतपुरको सौन्दर्यता लोभलाग्दो देखिएको छ । ‘हामीले जुन सपना देखेका छौं त्यो पुरा भएको छ । आज भरतपुर देशमै नमुनाको सहर भएको छ , ’ महानगर प्रमुख रेनु दाहालले भनिन् , ‘ विकासमा भरतपुरले फड्को मारेको छ । भरतपुरमा विकासको यात्रा झन बढेको छ । ’
पूर्वपश्चिम राजमार्ग अन्तर्गत ११३ किमि लामो बुटवल–नारायणगढ सडक निर्माणको लागि २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो तर त्यहीं सडकसगं जोडिएको ६.०८ किमि लामो पुलचोक–गोन्द्राङ सडक खण्डलाई त्यस आयोजनाबाट छुटाईएको थियो। नगर प्रमुख रेनु दाहालले पहल गरेर सडक निमार्ण र भूमिगत विद्युतीकरणको योजना अघि बढेको थियो । बुटवल–नारायणगढ सडक सुरु भएको दुई वर्ष पछि अर्थात २०७७ माघ २० मा पुलचोक–गोन्द्राङ सडक निर्माण कार्यको सुरुवात गरिएको थियो । एसियाली मापदण्डको सडक तयार भएपछि भरतपुरको स्वरुप फेरिएको छ । ‘ विकासमा सहकार्यले पारेको प्रभाव हो यो , ’ उपप्रमुख चित्रशेन अधिकारीले भने , ‘ भरतपुरको पहिला र अहिलेको अवस्थामा धेरै फेरिएको छ । मध्यभागको सहरले विकासको सन्देश देशभर पुगेको छ । ’
हाल पचास मिटर चौडाइको ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान,बिजुली अन्डरग्राउण्ड र हरियालीको कार्यहरु गरिएको छ । यो नेपालकै नमुनाको सडक भएको भरतपुर महानगरको दावी छ ।