चितवन, २८ फागुन । मेडिकल फिजिसिस्ट र रेडिएसन अंकोलोजिष्टको चार दिने हेण्ड् अन वर्कसप (कार्यशाला) वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा हुने भएको छ । फागुन २९ गतेदेखि चैत ३ गतेसम्म वर्कसप हुन लागेको हो । साउथ एसिया सेन्टर फर मेडिकल फिजिसिस्ट एण्ड क्यान्सर रिसर्च सेन्टर (एससीएमपिसिआर) ले आयोजनाले गर्ने वर्कसप युरोपियन बोर्ड अफ एक्रिडिएसन ईन मेडिकल फिजिक्सबाट मान्यता प्राप्त हुने जनाईएको छ ।
अस्पतालका मेडिकल फिजिसिस्ट सुरेश पौडेलले युरोपमा हुने खालको वर्कशप यही हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो “यो कार्यशाला युरोपियन स्टाडण्र्डको हो, सोही अनुसारको मान्यता प्राप्त छ ।” आफूहरुले सिकेको सीप र दक्षतालाई प्रस्तुत गर्दै विदेशी विज्ञबाट थप अनुभव प्राप्त हुने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “यो कार्यशालाले नेपालको उपचार पद्धतिमा थप गुणस्तरीयता प्रदान गर्ने छ ।” पौडेलका अनुसार कार्यशालामा सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान प्राप्त हुनेछ । उहाँले भन्नुभयो “डमीमा प्रयोगात्मक रुपमा रिहल्सल गर्दछौं, सिकिसकेपछि व्यवहारमा उतार्छाै ।”
कार्यशालामा नेपाल सहित जर्मनी, बेल्जियम, नेदरल्याण्ड, स्वीजरल्याण्ड, भारत, बंगलादेश लगायतका देशबाट सहभागी र विज्ञहरु सहभागी हुनेछन् । कार्यशालामा ४० भन्दा बढी सहभागी र सात जनाभन्दा बढी विदेशी विज्ञ हुनेछन् । नेपालमा मेडिकल फिजिसिस्टको संख्या अत्यन्त न्यून रहेको छ । यो विधाबाट टाउको (ब्रेन), कलेजो, फोक्सो लगायतका ठाउँमा भएका शल्यक्रिया पनि गर्न नमिल्ने सानो क्यान्सरलाई बिना शल्यक्रिया रेडिएसनको माध्यमबाट उपचार गर्न सकिने मेडिकल फिजिसिस्ट सुरेन्द्र चन्दले बताउनुभयो । शुन्य दशमबल एक मिलिमिटर एक्युरेन्सीमा रेडिएसन दिएर यो विधिबाट क्यान्सरको उपचार हुने उहाँको भनाई छ ।
यसलाई ‘सर्जरी विकल्प’ भन्न सकिन्छ । यो प्रविधिलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन सके नेपालको क्यान्सर उपचारमा ठूलो उपलब्धी हुने अस्पतालका सिनियर मेडिकल फिजिसिस्ट रामनारायण यादवले बताउनुभयो । स्टेरियोट्याक्टिक रेडियो सर्जरी (एसआरएस) एक गैर–सर्जिकल विकिरण उपचार पद्धति हो । जसले साना ट्युमर र मस्तिष्क असामान्यताहरूलाई लक्षित गर्न विकिरणको अत्यधिक केन्द्रित, तीव्र खुराक प्रदान गर्दछ । जसबाट तोकिएको स्थान वरपरका स्वस्थ तन्तुहरूमा हुने क्षतिलाई कम गर्दछ ।