चितवन, चैत १२– नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्ड लिङ्क कम्युनिकेशनसंग दश लाख ग्राहक जोडिएका छन् । यो सँगै वर्ल्डलिङ्क १० लाख घरधुरीमा इन्टरनेट जडान पुर्याउने देशकै पहिलो सेवाप्रदायक बनेको छ । वर्ल्ड लिङ्क चितवनका प्रमुख नारायण घर्तीले वर्ल्ड लिङ्कसंग जोडिएका १० लाख ग्राहकप्रति कृतज्ञता व्यक्त गरेका छन् । यो खुसीयालीलाई चितवनमा उत्सवको रुपमा मनाइएको छ । नारायणघाटको कमलनगर स्थित कार्यालयमा केक काटेर खुसीयाली साटासाट गरेका थिए । ‘ वर्ल्ड लिङ्कले १० लाख ग्राहक पार गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो हाम्रो समर्पण र ग्राहकको विश्वासको परिणाम हो ,’ घर्तीले भने , ‘ कर्मचारी लगन र खटाईले सेवामा प्रभावकारी बनाएको कारण यो सफल भएको हो । ’ वर्ल्ड लिङ्कले नयाँ लोगो समेत सार्वजनिक गरेको छ ।
चितवनमा दुई दशकदेखीका ग्राहक बालगोपाल चुकेलाई सहभागी गराइएको थियो । चुकेले वर्ल्ड लिङ्कको सेवामा सन्तुष्ट रहेको र भविष्यमा पनि यसलाई प्रर्वद्धन गर्न आफू प्रतिवद्ध रहेको बताए । वर्ल्ड लिङ्क प्रयोगकर्ताहरु यमलाल भण्डारी, रुद्राक्ष जोशी, सुरेश श्रेष्ठले केक काटेर खुशीयाली मनाएका हुन् ।
यो उपलब्धिको अवसरमा कम्पनीले १० जना भाग्यशाली ग्राहकलाई आईफोन १६ उपहारस्वरूप प्रदान गर्ने घोषणा गरिसकेको छ । कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकहरूप्रति आभार व्यक्त गरेको छ । ‘हामी हाम्रा अमूल्य ग्राहकहरूसँग यो अविस्मरणीय उपलब्धि मनाउन पाउँदा अत्यन्तै उत्साहित छौँ । सहरदेखि ग्रामीण भेगसम्म तपाईंहरूको विश्वासले नै हाम्रो यात्रा सम्भव भएको छ, ’ कम्पनीले भनेको छ , ‘ नेपाललाई डिजिटल रूपमा सबल बनाउने वर्ल्ड लिङ्कको लक्ष्य छ । हाम्रो उद्देश्य सधैंभरि सबैलाई, जहाँसुकै, जस्तोसुकै समयमा पनि इन्टरनेट सेवामा जोड्नु हो । १० लाख घरधुरीसम्म पुग्नु हाम्रो डिजिटल नेपाल निर्माण गर्ने संकल्पको एउटा महत्वपूर्ण कोशेढुंगा हो । ’ कम्पनीले आफ्ना ग्राहकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
वर्ल्डलिंकले हालैमात्र दुई विधामा एसियन टेलिकम अवार्ड २०२५ समेत पाएको छ । करिब ३५ प्रतिशत ब्रोडब्यान्ड बजार हिस्सा ओगटेको कम्पनीले पाँच हजार बढीलाई रोजगारी दिएको छ । साथै देशका १४ हजार बढी स्थानमा वर्ल्डलिंकले निःशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ । इन्टरनेट सेवासँगै समाजमा योगदान गर्ने विभिन्न सामाजिक उत्तरदायित्त्वका कार्यक्रमहरू पनि आयोजना भइरहेको कम्पनीले जनाएको छ ।