चनौली । पश्चिम चितवनको चनौलीमा सार्वजनिक सवारीका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट चनौलीले चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेको हो । सडक दुर्घटना न्यूनीकरणका लागि गर्ने उद्देश्यले स्वास्थ्य परिक्षण गरिएको अस्थाई ट्राफिक पोष्टका प्रहरी सहायक हवल्दार सन्तोष बहादुर सिंहले संयोजन गरेर स्वास्थ्य परिक्षण गराएका हुन् । सवारीसाधनको राम्रो अवस्था तथा चालक स्वस्थ भएमा सडकमा हुने दुर्घटना नहुने सिंहले बताए ।
जनता केयर हस्पिटल प्रालि चनौली र भरतपुर आँखा अस्पताल चनौली उपचार केन्द्रको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाको समन्वयमा स्वास्थ्य परिक्षणको ब्यवस्थापन गरिएको हो । स्वास्थ्य शिविरमा ५२ जना सवारी चालक तथा सहचालकले स्वास्थ्य तथा आँखा परीक्षण गराएका छन् । परीक्षणका क्रममा अधिकांशलाई उच्च रक्तचाप तथा मधुमेहको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताए । कार्यक्रमका प्रमुख अतिथि भरतपुर–१८ का वडा अध्यक्ष बाबुराम रानामगरले चालकको स्वास्थ्य राम्रो नभएसम्म सवारीसाधन हाँक्दा दुर्घटना हुन सक्ने बताउँदै सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको स्वास्थ्यसमेत राम्रो हुनुपर्ने बताए ।
जिल्ला ट्राफिक प्रहरी चितवनका प्रहरी नायव निरिक्षक कृष्ण ढकालले लामो–छोटो दूरीमा यात्रुहरु बोकेर हिँड्ने चालक तथा सहचालकको अवस्था जाँच गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको बताए । ‘ लागूऔषध, मादक पदार्थ सेवनका कारण दैनिकरुपमा बढिरहेको सवारी दुर्घटना न्यूनीकरण गर्न शिविर आयोजना गरेका हौं ,’ ढकालले भने , ‘ हामी सधैँ दुर्घटना न्यूनीकरण गर्न रचनात्मक क्रियाकलाप गर्ने छौँ । ’,
नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओमप्रसाद लामिछानेले दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीले मात्रै नहुने हुँदा यसमा सबैको जिम्मेवारी उत्तिनै रहेको भन्दै सरल र सहज तरिकाबाट सवारीसाधन चलाए दुर्घटना न्यूनीकरण हुने बताए ।
इलाका प्रहरी कार्यालय चनौलीका प्रमुख प्रहरी निरिक्षक विक्रम रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण रेडक्रस चनौली उपशाखाका सचिव कालिकाप्रसाद खनालले गरेका थिए । उक्त अवसरमा जनता केयर हस्पिटल प्रालिले निःशुल्क औषधि उपलब्ध गराएको हस्पिटलका सञ्चालक राजन त्रिपाठीले जानकारी दिए ।