भरतपुर, १३ माघ
नेपाल शिक्षक संघ भरतपुर महानगर समितिले शिक्षामा गुणस्तरको अभियान थालेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको लागि महानगर समितिले बहस सुरु गरेको हो । सामुदायिक विद्यालयको समस्या र चुनौती पहिचान गर्न महानगरपालिकाका सरोकार पक्षसँग अन्तरक्रिया गरी सुझाव संकलन गरेको हो ।
संघमा आबद्ध शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, काँग्रेसबाट निर्वाचित भरतपुर महानगरका वडाध्यक्ष, भरतपुर महानगरपालिका उपप्रमुख सहित काँग्रेसका जिल्ला नेतृत्वसँग सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न सामूहिक छलफल गरिएको थियो ।
शिक्षक संघमा आबद्ध विद्यालयका प्रधानाध्यापक, काँग्रेसमा आस्थावान् विद्यालयका अध्यक्ष र शिक्षकहरूले सामुदायिक विद्यालयमा अभिभावकको विश्वास बढाउनमा ऐक्यबद्धता जनाएका छन् । उनीहरूले शिक्षामा गुणस्तर बढाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शिक्षकहरूले विद्यालयको विकास र शिक्षकको मनोबलमा हस्तक्षेपलाई समस्या देखाएका छन् । समुदायको विश्वास नभएको स्वीकार गर्दै विद्यार्थीको आकर्षण बढाउन लाग्ने बताएका छन् । आदिकवि भानुभक्त माविका प्राचार्य डम्बर बहादुर शाहीले शिक्षामा कुनैपनि तरिकाबाट हस्तक्षेप नभए गुणस्तर बढ्ने बताए ।
चुनौती र समस्या भएपनि समन्वयबाट समाधान गर्न सकिने बताउँदै इच्छाशक्तिले मात्रै नतिजा आउने गरी काम गर्न कठिन नभएको बताए । “शिक्षामा हस्तक्षेप रोकिने हो भने भने अनुसारको नतिजा आउँछ,” उनले भने, “समुदायको विश्वास फर्काउन अब पनि नलाग्ने हो भने पेशागत विश्वास नै धरापमा पर्छ । त्यसका लागी स्थानिय तहको समन्वय र सहयोगको खाँचो छ ।”
चितवन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीले नाम र दामको लागि नभई कामको लागि अग्रसर भए गुणस्तर बढ्ने बताए । उनले तलबको लागि मात्रै विद्यालय जाने परिपाटी र सोच त्यागेर काम गरे परिणाम देखिने बताए । उनले शिक्षकलाई केबल तलबको लागि मात्र जागिर नभनी विद्यार्थीको सिकाइको उपलब्धिसँग जोडिनपर्ने बताए ।

अधिकारीले शिक्षकको समयानुसार वृद्धिविकास र सुविधा बढाउन पन माग गरे । “सामाजिक र विद्यार्थीप्रतिको दायित्व सम्झिए विद्यालय आफैं बन्छ,ह” अधिकारीले भने, “मेरो र तेरो मान्छे ल्याउने नाममा दरबन्दी राख्दा पनि विग्रेको छ । राम्रा र योग्य शिक्षक ल्याए विद्यालयको शैक्षिक अवस्था सुधारिन्छ ।”
नेपाल शिक्षक संघ भरतपुरका अध्यक्ष बटुकलाल तामाङले सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन शिक्षासँग सरोकार राख्ने पाँच पक्षसँग छलफल कार्यक्रम आयोजना गरेको बताए । उनले सहयोगसँगै गुणस्तरीय शिक्षा र संगठन विस्तारबारे बहस चलाएको बताए ।
“सामुदायिक विद्यालयको अवस्था र हामीले नेतत्व गरेको भूमिकालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हौं,” उनले भने, “महानगरका वडा, विद्यालयका अध्यक्ष र प्रधानाध्यापकको अवस्थाबारे जानकारी होस् भनेर पनि कार्यक्रम गरेका हौ ।”
कार्यक्रममा नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष इन्दिरा मरहट्टठा, नेपाल शिक्षक महासंघका अध्यक्ष कोमलनाथ घिमिरेले शिक्षामा देखिएका चुनौती, समस्या र समाधानको पक्षबारे सुझाव दिएका थिए । स्थानिय तहकोतर्फबाट भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारील स्थानीय तहबाट समन्वय र सहयोगको लागि आफू सधैं तयार रहेको बताए ।
“सामुदायिक विद्यालयमा अभिभावकको विश्वास छैन, सबै सुविधा भएर पनि पछाडि परेको छ,” उनले भने, “शिक्षाको गुणस्तरका लागि थप के गर्ने हो आउनुहोस् । सँगै मिलेर अब देखिने गरी काम गरौं ।”
नेपाल शिक्षक संघ भरतपुरका सचिव राजु खनालले शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकार पक्षसँगको समन्वयमा कार्ययोजना तयार गरिने बताए ।