एजेन्सी, ४ कात्तिक ।
अष्ट्रेलियामा जारी टि-ट्वान्टी विश्वकपमा सुपर १२ को समीकरण पूरा भएको छ । शुक्रबार प्रारम्भिक समूह चरणअन्तर्गतका दुई खेल सकिएसँगै सुपर १२ खेल्ने सबै टोलीको टुंगो लागेको हो ।
प्रारम्भिक समूह बी बाट आयरल्याण्ड र जिम्बाब्वे सुपर १२ मा प्रवेश गरेका छन् । आयरल्यान्डले दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै सुपर १२ मा आफ्नो स्थान पक्का गरेको हो । वेस्ट इन्डिज भने हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । जीतका लागि १४७ रन पछ्याएको आयरल्यान्डले १७.३ ओभरमा मात्र एक विकेट गुमाएर १५० रन बनायो । आयरल्याण्डलाई सनसनीपूर्ण जीत दिलाउन पल स्टर्लिङले ४८ बलमा नट आउट ६६ रनको योगदान गरे । सो क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि एन्डी बालब्रिनीसँग ७३ रनको साझेदारी गरेका थिए । बालब्रिनी ३७ रन बनाएर आउट भए । यस्तै, लोरकन टोकरले ३५ बलमा अविजीत ४५ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे । वेष्ट इण्डिजकातर्फबाट एक मात्र विकेट अकिल हुसैनले चट्काए ।
यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको वेस्ट इन्डिजले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १४६ रन बनाएको थियो । उसका ब्रेन्डन किङले ४८ बलमा ६२ रन बनाए । आयरल्यान्डका गेराथ डेलानीले आफ्नो चार ओभरको स्पेलमा १६ रन खर्चिएर तीन विकेट लिए । उनी म्यान अफ दि म्याच समेत घोषित भए । जीतपछि दुई अंक प्राप्त गरेको आयरल्याण्ड समूह बी मा दोस्रो स्थानमा रहँदै सुपर १२ मा प्रवेश गर्यो ।
आजै खेलिएको दोस्रो खेलमा जिम्बाब्जेले स्कटल्याण्डलाई ५ विकेटले हरायो । १३३ रनको सामान्य लक्ष्य जिम्बाब्वेले खेल सकिन ९ बल बाँकी छँदा पाँच विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान क्रेग इरभाइनले ५८ तथा सिकन्दर राजाले ४० रनको योगदान दिए । स्कटल्याण्डका जोस डावेले २ तथा ब्राड ह्वील, मार्क वाट र माइकल लिस्कले १-१ विकेट लिएपनि टोलीलाई जीत दिलाउन भने सकेनन् ।
यसअघि होबार्टमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रनको योगफल तयार पारेको थियो । उसका लागि जर्ज मुन्सीले सर्वाधिक ५४ रनको पारी खेले । बलिङमा जिम्बाब्वेकातर्फबाट टेन्डाइ चटारा र रिचर्ड गाराभाले दुई-दुई विकेट लिए भने ब्लेसिङ मुजाराबानी र सिकन्दर राजाले १-१ विकेट चट्काए । अल्राउण्ड प्रदर्शन गरेका राजा म्यान अफ दि म्याच रहे । जीतपछि दुई अंक बटुलेको जिम्बाब्वे समूह बी को शीर्ष स्थानमा रहँदै सुपर १२ मा प्रवेश गरेको हो ।