होबार्ट, ६ कात्तिक ।
आइसीसी टिट्वान्टी विश्व कपको सुपर १२ अन्तर्गत आइतबार आयरल्याण्ड विरुद्धको खेलमा श्रीलंका ९ विकेटले विजयी भएको छ । जीतका लागि १२९ रनको लक्ष्य पाएको श्रीलंकाले एक विकेट मात्र गुमाएर १५ ओभरमा लक्ष्य भेट्टाएको हो ।
श्रीलंकाको जीतमा कप्तान कुशल मेन्डिसले ४३ बलमा ६८ रन बनाए । उनको पारीमा पाँच चौका र तीन छक्का समावेश थिए । प्लेयर अफ दि म्याच समेत रहेका उनले पहिलो विकेटका लागि धनन्जय डि सिल्भासँग ६३ रनको साझेदारी गरेका थिए । डि सिल्भाले ३१ रन बनाए । यस्तै चरिथ असलन्का ३१ रनमा नट आउट रहे ।
यसअघि होबार्टमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । उसका ह्यारी टेक्टरले सर्वाधिक ४५ रन बनाए । ओपनर पल स्टर्लिङले ३४ रन बनाए । श्रीलंकाका लागि बलिङ गर्दै महिश थिकसिना र हसरंगा डि सिल्भाले २-२ विकेट लिए । यस्तै, बिनुरा फर्नान्डो, लाहिरु कुमारा, चमिका करुनारत्ने र धनञ्जय डि सिल्भाले पनि १-१ विकेट हात पारे ।
जीतसँगै श्रीलंकाले दुई अंक प्राप्त गरेको छ । सुपर १२ को ग्रुप १ मा श्रीलंका दोस्रो स्थानमा उक्लिएको छ ।