क्रिकइन्फो, ३ कात्तिक ।
टि-ट्वान्टी विश्वकप अन्तर्गत प्रारम्भिक समूह चरणमा ग्रुप ‘ए’ तर्फका खेल सकिएका छन् । सोसँगै ग्रुप ‘ए’ मा पहिलो स्थानमा रहेको श्रीलंका र दोस्रो स्थानको नेदरल्याण्ड्स सुपर १२ मा प्रवेश गरेका छन् । ३ खेलबाट दुवै टोलीले समान दुई-दुई खेल जित्दै बराबर ४-४ अंक बटुलेका थिए । नेट रन रेटका आधारमा नेदरल्याण्ड्सलाई उछिन्दै श्रीलंका समूह विजेता बन्न सफल भएको हो । समूह् ए का अन्य दुई टोली नामिबिया र युएईको विश्वकप यात्रा भने यहीँ समाप्त भएको छ ।
बिहीबार खेलिएको पहिलो खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई १६ रनले पाखा लगायो । १६३ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले पूरै २० आभेरमा ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । नेदरल्याण्डस्का लागि मार्क ओ डाउडले ७१ रन बनाएपनि त्यो जीतका लागि पर्याप्त भने भएन । विकेटकिपर कप्तान स्कट एडवर्डले २१ रन जोडेको खेलमा श्रीलंकाका वानिदु हसरंगा डि सिल्भाले ३ विकेट चट्काए । महेश थिकसिनाले २ विकेट लिँदा लाहिरु कुमारा र बिनुरा फर्नान्डोले १-१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । उसका लागि विकेटकिपर कुशल मेन्डिसले ७९ रन बनाए । बलिङतर्फ पाउल भान मिकिरान र बस डि लिडीले २-२ तथा फ्रेड क्लासन र टिम भान डर गुटेनले १-१ विकेट लिए । जीतपछि श्रीलंकाले दुई अंक प्राप्त गर्दा कुशल मेन्डिस म्यान अफ दि म्याच रहे ।
बिहीबारै खेलिएको दोस्रो खेलमा युएर्यले नामिबियालाई ७ रनले हरायो । १४९ रनको लक्ष्य पछ्याउन उत्रिएको नामिबियाले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो । २०औँ ओभरको चौथो बलमा नामिबियाका डेविड विज आउट भएसँगै नामिबियाको सुपर १२ प्रवेश गर्ने सपना टुटेको हो । ३६ बलको सामना गरेका विजले ३ चौका र ३ छक्काको मद्दतमा ५५ रनको पारी खेले । बलिङमा बसिल हमिद र जाहुर खानले २२ विकेट लिँदा कार्तिक मेयप्पन, जुनैद सिद्धिकी र मुहम्मद वसीमको नाममा एकएक विकेट रह्यो ।
टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो । उसका लागि ओपनर मुहम्मद वसीमले ५० तथा कप्तान चुन्दनगापोइल रिजवानले ४३ रनको पारी खेले । नामिबियाको तर्फबाट डेविड विज, वरनार्ड स्कोल्ज र बेन सिकोन्गोले १-१ विकेट लिए ।
नामिबिया र युएईले प्रारम्भिक चरण अन्तर्गत ग्रुप ‘ए’ को अंक तालिकामा क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगितालाई बिट मारेका छन् । ग्रुप ए मा पहिलो बनेको श्रीलंका ‘सुपर १२’ मा ‘ग्रुप वान्’ मा परेको छ भने नेदरल्याण्डस् ‘ग्रुप टु’मा परेको छ ।