भरतपुर, २३ असार ।
गायक हेमन्त शर्माको “रुन्नँ भन्दा नि” बोलको गीत सार्वजनिक भएको छ । गायक शर्माले गीतको म्युजिक भिडियो बिहीबार दिउँसो आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । थोरै पैसा कमाउन समेत विदेश हानिनुपर्ने नेपाली युवाहरूको बाध्यकारी अवस्थालाई गीतको मुख्य विषयवस्तु बनाइएको छ ।
गीतमा महिलाको स्वर गायिका रचना रिमालले भरेकी छिन् । गीतमा संगीत र शब्द गायक स्वयंको रहेको छ । गीतमा म्युजिक एरेन्जको भूमिका कृष्ण विश्वकर्माले निभाएका छन् भने मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका छन् ।
करिब ८ मिनेट लामो गीति भिडियोमा केकी अधिकारी र कमल सिंहको अभिनय रहेको छ । भिडियोको निर्देशन सागर गैरेले गरेका हुन् । छायांकनको भूमिकामा उत्तम हुमागाईं देखिँदा भिडियोको सम्पादन नवीन निरौलाले गरेका छन् ।
गीति भिडियो सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै गायक शर्माले गीतमार्फत हालको समाजको अवस्था देखाउने प्रयास गरेको बताए ।
“रोजगारीका लागि विदेश गएका नेपालीहरू स्वदेश फर्किऊन् भन्ने हामी सबैको चाहना हो । तर त्यस्तो हुन सकेको छैन,” गायक शर्माले भने, “कमाउनका लागि विदेश जानेको संख्या हिजोभन्दा आज बढिरहेको छ । देशको आर्थिक अवस्था पनि बिग्रँदो स्थितिमा छ । यसले राम्रो संकेत दिइरहेको छैन ।”
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्: