प्रायः नेपाली अभिनेत्रीहरु ‘स्टेरियोटाइप’ भूमिकाबाट बाहिर निस्कन नसकेको टिप्पणी हुने गर्छ । तर, केही यस्ता अभिनेत्रीहरु पनि छन्, जसले त्यसखालको भूमिकाप्रति सुषुप्त रुपमा विद्रोह गरिरहेका छन् । अभिनेत्री सुरक्षा पन्तले करिअरको सुरुवाती समयदेखि छनोट गरेका चरित्र र फिल्म हेर्दा उनले ‘स्टेरियोटाइप’को विद्रोह गरिरहेको संकेत मिल्छ । यो कुरा उनी आफैं पनि स्वीकार्छिन् ।
आइतबार एक कार्यक्रममा उनले भनिन्, ‘मैले चयन गर्ने भूमिका र फिल्मले ‘स्टेरियोटाइप’को विद्रोह गरिरहेको छ भन्ने लाग्छ भने त्यो त खुसीको कुरा हो । सोच त्यही हो । नेपालमा महिला कलाकारहरुका लागि अवसरहरु कम छ । तर, फेरि अवसर भन्ने कुरा मागेर पाइँदैन । त्यो खोस्नु पनि पर्छ बेला बेलामा । त्यो खोस्ने भनेको चाहिँ आदरपूर्वक । र, नयाँ मेकरसँग काम गर्न डराउनु हुन्न ।’
मनोवल लिएर आउने मेकरलाई प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ । आफूलाई कहिले काहिँ नयाँ मेकरसँग काम गर्न के जरुरी छ र ! जस्तो लाग्ने गरेता पनि कलाकार भएपछि जिम्मेवारी पनि रहने बताउँदै उनी भन्छिन्, ‘दर्शकबाट पाउने मायाले जिम्मेवारी पनि साथमा लिएर आउँदो रहेछ । त्यसैले राम्रो खालको स्टोरी आयो भने म नयाँ मेकरसँग काम गर्नका लागि चाहिँ हिचकिचाउँदिनँ ।’
आफूलाई फरक खालको स्टोरीले छानिरहेको उनको अनुभव छ । ‘पर्सनालिटी एउटा देखियो भने त्यस्तै खालको फिल्म अफर हुने रहेछ । हामीलाई चाहिँ मेकरहरुले सोच्दै नसोचेको क्यारेक्टरमा राख्दिए हुन्थ्यो भन्ने हुन्छ । तर, त्यस्तो नहुने रहेछ,’ उनी भन्छिन्, ‘हामी जस्तो देखिन्छौं, त्यसलाई हेरेर क्यारेक्टर अफर हुने रैछ ।’ यो हुनुमा उनी मेकरको सोच फराकिलो हुन नसकेको मान्छिन् ।
कलाकार काचो माटो जस्तो जे बन्न पनि तयार हुने भएकाले कस्तो आकार दिने भन्ने आँट चाहिँ मेकरले लिएर आउनु पर्ने सुरक्षाको धारणा छ । नयाँ मेकरसँग काम गर्दा व्यावसायिक हिसाबले ‘रिक्स फ्याक्टर’ बढी हुने भए पनि सहकार्यको हिसाबले चुनौतीपूर्ण र रमाइलो हुने गरेको उनको विगतको अनुभव छ । नयाँ मेकरमा उत्कृष्ट दिनुपर्छ भन्ने जोश र हुटहुटी धेरै नै हुने सुरक्षा पाउँछिन् ।
‘स्थापित भैसकेका मेकरसँग काम गर्दा ‘रिक्स’ कम हुन्छ । शतप्रतिशत त नभनौं तर विश्वास जितिसकेको मेकरको फिल्म चल्छ भन्ने विश्वास हुन्छ । त्यो हिसाबले ‘रिक्स’ कम हुन्छ । नयाँ मेकरसँग चाहिँ ‘रिक्स फ्याक्टर’ बढी हुन्छ । र, म ‘रिक्स’ लिन तयार छु । जीवनको यो विन्दूमा आएर ‘रिक्स’ नलिए त के मज्जा आयो र !’, उनले फिल्म ‘बहाव’को ट्रेलर रिलिज कार्यक्रममा भनेकी थिइन् ।