आगामी फागुन १९ गते दुई ठूला नेपाली फिल्मबीच महासंग्राम हुँदैछ । यो मितिमा दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ४’ र अनमोल केसी अभिनीत फिल्म ‘छड्के २’ आउने निश्चित भइसकेका छन् । दुवै फिल्म एकअर्काका लागि ठूला चुनौती हुन् । यी दुई फिल्म एकसाथ प्रदर्शनमा आउँदा इनिसियल व्यापारमा दुवैलाई ठूलो घाटा हुनेछ ।
‘छक्का पञ्जा ४’ र ‘छड्के २’मध्ये कसलाई च्याप्ने भन्नेमा अहिलेदेखि नै हलवालाहरु विभाजित हुन थालेका छन् । मल्टीप्लेक्स चेन क्यूएफएक्सले अब एकै मितिमा दुई ठूला फिल्म नचलाउने भन्दै फागुन १९ मा ‘छक्का पञ्जा ४’ मात्र प्रदर्शन गर्ने निर्णय गरेपछि ‘छड्के २’ सर्न सक्ने चर्चा भइरहेको छ । यस्तैमा शनिवार पूर्वनिर्धारित मिति नै उल्लेख गरेर नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
ग्याङस्टर जनरामा निर्माण भएको फिल्मको नयाँ पोस्टरमा अनमोल ग्याङस्टर लुक्समा प्रस्तुत छन् । उनको लुक्सले ध्यान खिच्छ । पोस्टरमा उनीसहित अन्य ६ जना कलाकार पनि फिचरिङ छन् । अनमोललाई ग्याङको नाइकेको रुपमा चित्रण गरिएको छ । निर्माण टिमले यो पोस्टर सार्वजनिक गर्नुको अर्थ क्यूएफएक्सले फिल्म नचलाए पनि फागुन १९ को मिति नछाड्ने सन्देश दिनु हो ।
निगम श्रेष्ठको लेखन र निर्देशन रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरको पनि अभिनय छ । चितवन र मुस्ताङमा खिचिएको फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ, कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । काभ्रे फिल्म्सद्वारा निर्मित यस फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् ।